काठमाडौं । नेकपा एसका वरिष्ठ नेता मुकुन्द न्यौपानेले आफूले पार्टी परित्याग गरेको बताएका छन् । शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनल्ले नेकपा एसले परिचय दिए पनि पहिचान दिन नसकेको आरोप लगाए । उनले एकीकृत समाजवादी पार्टी अवसरवादमा लिप्त भएको आरोप लगाए ।
उनले भने, ‘सदैव आफ्नो आफ्नो स्वार्थमा निहित भएको आभास भएको मलाई लाग्यो, विचार र दर्शनको धारलाई भुत्ते पारेर परिवर्तनको द्वन्द्वात्मक भौतिकवादी दर्शनको धारबाट अलग भई वस्तुगत परिस्थितिको ठोस विश्लेषण नगरी माक्र्सवादका दुईचार शब्द निकालेर अवसरवादीमा आधारित भयो । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने, मैले मिति २०७९ माघ २१ र २२ को केन्द्रीय समितिको बैठकमा आफ्नो धारणासहित फरक मत राखेको थिएँ । हालसम्म कुनै पनि छलफल नभएकाले त्यहाँ बसिरहन सकिनँ । यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ, भविष्य नभएको पार्टीको सदस्य हुनुभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्वपूर्ण कुरा हो ।’
उनले आफू अब नेकपा एमालेमा नै फर्किने बताउँदै देशभरका नेता कार्यकर्ताहरू समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । उनले नेकपा एसमा सम्मानित नेता झलनाथ खनालसमेत सम्मानित पद दिए एमालेमा नै फर्किने मनस्थितिमा रहेको दाबीसमेत गरे । नेता न्यौपानेले सांसद भएकाहरूलाई नौ–नौ महिनामा मन्त्री दिने भनेर आश्वासन दिएको भन्दै वर्तमान गठबन्धन ५ वर्ष नजाने दाबी गरे ।