काठमाडौं । परीक्षार्थीसँग घुस लिएर उत्तरपुस्तिका साटफेर गरी पास गराइदिएको आरोप लागेकालाई विशेष अदालतले सफाई दिएपछि सो विरुद्ध पुनरावेदन लिएर अख्तियार सर्वोच्च अदालत पुगेको छ ।
अख्तियारले २२ मंसिर २०७६ मा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाअधिकृत कमलप्रसाद दाहालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले प्रतिवादी उपर कसुर आरोपित हुनु र कसुर पुष्टि हुनु भिन्न भिन्न अबस्था भएको र प्रतिवादीहरुले आरोपित कसुर गरेको भन्ने ठोस भर्पर्दो एवं शंकारहित प्रमाणबाट पुष्टि हुन नआएको हुँदा प्रतिवादीलाई कसुरदार ठहर गरी सजाय गर्न मिल्ने नमिल्ने ठहर गरेको थियो ।
परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तांक फेरबदल गरेको आरोपमा पनिकाका लेखाअधिकृत दाहाल, त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरी, सोही क्याम्पसमा परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस र गाईघाटका परीक्षार्थी हीरा कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उत्तरपुस्तिका साटासाट तथा परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी लेखिएको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पाना घर लगेर विज्ञलाई लेख्न लगाइएको अभियोग थियो । लेख्न लगाएपछि फेरि सोही वास्तविक कभरपेजमा स्टिच लगाएको पुष्टि भएको पनि जनाइएको छ । एकापसमा मिलेमतो गरी जानुका र हीराको परीक्षा केन्द्रबाहिर लेखिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेर ओहोदा र पदको दुरूपयोग गरेको खुलेको थियो ।