• बैशाख २७ २०८३, आईतवार

‘वैद्य-बाँस्तोला’ नेतृत्वको ‘पार्टी एकता’ अन्तिम निष्कर्षमा, के छ विप्लवको ‘रणनीति’ ?

चैत्र २३ २०७९, बिहीबार

काठमाडौं । १० वर्षे शसस्त्र द्वन्द्वसँगै शान्ति प्रक्रियामा आएका पूर्व माओवादी पृष्ठभूमिका पार्टीहरू टुक्रिएर अनगिन्ती भएका छन् । उनीहरू आजसम्म पनि ध्रुवीकरण हुन सकेका छैनन् ।

कहिलेकसो पार्टी एकताको पक्षमा उभिने गरेका उनीहरू एकताभन्दा निकै पर पुगेको बुझिन्छ । किनकि पूर्व माओवादी पार्टी शान्ति प्रक्रियामा आएलगत्तै कोही संसदीय व्यवस्था अंगाल्न बाध्य भए भने कोही सशस्त्र संघर्षको अध्याय पूर्ण नभएको भन्दै आज पर्यन्त संघर्षकै रटान लगाइरहेका छन् ।

शान्ति प्रक्रियाबाट असन्तुष्ट केही पक्ष अपूर्ण संघर्षलाई पूर्णता दिन तम्सिएको देखिन्छ । उसले उक्त प्रक्रियाबाट अलग हुँदै छिटफुट हिंस्रक तथा गैरराजनीतिक गतिविधि गरिरहेको छ । तर, त्यहीँ शान्ति प्रक्रियाबाट संसदीय व्यवस्था अंगालेर सत्तामा पुगेको नेकपा (माओवादी केन्द्र) असन्तुष्ट पक्षलाई ध्रुवीकरण गर्न नसकेर बेलाबेला आलोचित हुने गरेको देखिन्छ ।

यद्यपि माओवादी केन्द्रले असन्तुष्ट पक्षसँग पार्टी एकताका लागि वार्ता र संवाद अघि नबढाएको होइन । तथापि असन्तुष्ट पक्षले संसदीय व्यवस्था अंगालेका कुनै पनि कम्युनिस्टसँग एकता नहुने बताउँदै आएको छ ।

यो व्यवस्था अंगालेका ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) माओवादी केन्द्र र एकीकृत समाजवादी हुन् । उनीहरूले मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, धमेन्द्र बाँस्तोला नेतृत्वको पार्टीसँग एकता प्रस्ताव नगरेका पनि होइनन् । तर, सम्भव नभएपछि एकताको संवाद नै बन्द भएको बुझिएको छ ।

त्यसयता वैद्य, विप्लव र बाँस्कोटा लगायतका केही नेताहरू पार्टी एकताको पक्षमा उभिएका छन् । उनीहरूले औपचारिक रूपमै विचार मिल्नेसँग पार्टी एकताका लागि ढोका खुल्लै रहने निर्णयसमेत गरिसकेका छन् ।

दुई महिनाअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीसँग विचार मिल्नेसँग एकताका लागि दैलौ खुल्लै छोडेको बताएको थियो । उसले यसबारेमा लिखित निर्णयसमेत गरिकेको नेकपा प्रवक्ता खड्गबहादुर बिश्वकर्मा प्रकाण्डले बताए ।

त्यस्तै धमेन्द्र बाँस्तोला संयोजकत्वमा गठित नेकपा (बहुमत)ले पनि विचार मिल्नेसँग पहिले कार्यगत एकता, त्यसपछि मोर्चाबन्दी गर्ने र अन्ततः पार्टी एकता गर्ने निर्णय गरेको नेता उदय चलाउने दीपकले बताए ।

‘हाम्रो एजेण्डा र विचार मिल्नेसँग पार्टी एकता गर्न हरहमेशा तयार छौँ । यसका लागि वार्ता र संवादको माध्यमबाट छलफल गरि अन्तिम निष्कर्षमा पुग्ने निर्णय नै भएको छ,’ चलाउनेले भने, ‘यद्यपि संसदीय व्यवस्थाको ओकालत गरेका कुनै पनि कम्युनिस्ट पार्टीसँग एकता सम्भव हुँदैन । संसदमा सांसदको रजाइ, किनबेच र सत्ताको मोलीमोलाई हाम्रा लागि पाँच्य हुँदैन । उनीहरूसँग हाम्रो विचार पनि मिल्दैन र एकता पनि सम्भव छैन ।’

‘हामी एउटै पृष्ठभूमिको पार्टीबाट अलगिएर यहाँसम्म आइपुगे पनि अन्ततः एकता नै बल सम्झेर पार्टी एकता गर्ने प्रयासमा छौँ । यद्यपि विप्लव कमरेडले नेतृत्व गरेको नेकपाबाट हामी अलग भए पनि एकता असम्भव भने होइन,’ चलाउने थन्छन्, ‘तर, विप्लव कमरेडसँग तत्काल पार्टी एकता नहुन सक्छ । भविष्यमा यसै भन्न सकिँदैन । नेतृत्वले एकताको संवाद अघि बढाए हामीले रचनात्मक सल्लाह, सुझाव दिन सक्छौँ ।’

तत्कालीन माओवादीबाट विभाजित मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत)बीच एकता अन्तिम चरणमा पुगेको छ । विगत ६ महिनायताको लामो प्रयासपछि एकता सम्भव भएको बताइएको छ ।

नेकपा (बहुमत) विप्लव नेतृत्वको नेकपाबाट विभाजित पार्टी हो । उसले विभाजन यता कुनै पनि हिंसात्मक तथा गैरराजनीतिक कार्य गरेको देखिँदैन । उसले मुकामदेखि दूरदराजका बस्तीमा पुगेर आफ्नो संगठन विस्तार गरिरहेको छ । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पनि संगठन विस्तार र राष्ट्रिय राजनीतिमा हुने राष्ट्रघातिविरुद्ध मुखरित गरिरहन्छ ।

पूर्व माओवादी घटक दल क्रान्तिकारी माओवादी बहुमतबीच पार्टी एकता हुने भएको छ । यी दलका शीर्ष नेतृत्व एकताका लागि विगत आधा वर्ष पहिलेदेखि वार्ता र संवादमा थिए । अन्ततः यी दुर्य पार्टीबीच एकता हुने निश्चय नै भएको छ । शुक्रबार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा पार्टी एकता हुने बताइएको छ । यसका लागि दिउँसो १२ बजे पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ ।

के छ विप्लवको रणनीति ?

नेकपाको नेतृत्व गर्दै आएका विप्लव र कर्णजित बुढाले नेतृत्व गरेको नेकपा (माओवादी समाजवादी) पार्टीबीच यहीँ महिनाको पहिलो साता एकता भएको छ । उसले विचार मिल्नेसँग एकताका लागि संवाद गर्ने बताउँदै आएको छ ।

वैद्य र बाँस्कोटा नेतृत्वको पार्टीबीच एकता हुँदा विप्लवले कुनै प्रतिक्रिया दिएका छैनन् । नेकपाबाट अलगिएको नेकपा (बहुमत) आफू अलगिएको पार्टीसँग एकता गर्दा विप्लवको मन अमिलो नभएको होइन भन्न सकिँदैन ।

विप्लव वैद्य नेतृत्वको पार्टीबाट विद्रोह गरेरै अलगिएका थिए । विप्लवले पनि संसदीय व्यवस्था अंगालेका दलसँग एकता नगर्ने उदघोष गरिसकेका छन् । उनको अबको रणनीति पूर्व माओवादी पृष्ठभूमिबाट विभाजित केही साना दलसँग एकता गर्ने रहेको बुझिएको छ ।

यद्यपि उनले वैद्य–बाँस्कोटा नेतृत्वको पार्टीसँग तत्काल एकता गर्ने सम्भावना न्यून रहेको नेकपाका नेताहरू बताउँछन् ।