काठमाण्डौ। काठमाण्डौ उपत्यकामा हुने ट्राफिक जामका कारण वार्षिक एक खर्ब १६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको पाइएको छ ।
जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको खपत, गाडीमा हुने ह्रास, स्वास्थ्यमा पर्ने समस्या, दुर्घटना जस्ता कारणले एक खर्ब १६ अर्ब बराबरको क्षति हुने गरेको काठमाण्डौ महानगरपालिकाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिएका हुन् ।
क्षति न्यूनीकरण गर्नका लागि ट्राफिक जाम कम गर्ने विषयमा अध्ययन भइरहेको श्रेष्ठले बताएका छन् ।समस्या न्यूनीकरणको विषयमा काठमाण्डौ महानगरपालिकाले अध्ययन गरिरहेको भए पनि यसका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था कार्यालय, सडक विभागसहित सरोकारवालाको सकारात्मक भूमिका रहनुपर्नेमा उनको जोड छ ।
ट्राफिक व्यवस्थापन विज्ञ श्रेष्ठले एक वर्षभित्र गाडीको गतिलाई पाँच मिनेट छिटो बनाउने लक्ष्यका साथ काम गरिरहेको पनि जानकारी दिए।