• जेष्ठ १० २०८३, आईतवार

हुम्लाका दुई वडासचिवलाई भ्रष्टाचार मुद्दामा कैद सजाय

चैत्र २१ २०७९, मंगलवार

काठमाडौं । हुम्लाको ताजकोट गाउँपालिकामा कार्यरत दुईजना वडासचिवलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले साढे तीन वर्ष र साढे दुई वर्ष कैद सजाय सुनाएको छ ।

मंगलबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारुको इजलासले यस मुद्दामा यस्तो फैसला गरेको हो । विशेषका उपरजिष्ट्रार नारद भट्टराईका अनुसार वडासचिव लामालाई तीन वर्ष ६ महिना र अर्का वडासचिव रामप्रसाद देवकोटालाई दुई वर्ष ६ महिना कैद सजाय भएको हो ।

‘लामालाई २२ लाख ९९ हजार र देवकोटालाई १० लाख ५६ हजार रुपैयाँभन्दा बढी बिगो भराउने फैसला भएको हो,’ प्रवक्ता भट्टराईले भने ।

लामा र देवकोटाले जिल्ला समन्वय समितिबाट आर्थिक वर्ष ०७३÷७४ का लागि निकासा भएको पूँजीगत अनुदान, सामाजिक सुरक्षा भत्ता र सञ्चालन अनुदान समेतको रकम सम्बन्धित कार्यालयका बैंक खाताबाट झिकेर हिनामिना गरेको अनुसन्धानबाट देखिएको थियो ।

अख्तियारका अनुसार उनीहरूले बदनियतपूर्वक व्यक्तिगत खातामा सरकारी रकम राखेर अनियमितता गरेको भेटिएपछि २४ असार २०७५ मा मुद्दा दायर भएको थियो ।

उनीहरूले भत्ता पाउनुपर्ने लाभग्राहीहरुलाई भत्ता नदिएको, बढी निकासा भएको रकम राज्यकोषमा फिर्ता नगरेको, सम्पन्न भएका योजनाको रकम लेखापरीक्षण समेत नगराएको भेटिएको थियो ।

लामाले कूल ६२ लाख १२ हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको अनुसन्धानले देखाएको थियो । यसैगरी देवकोटाले ३३ लाख २२ हजार रुपैयाँ हिनामिना गरेका थिए ।

मन्दिरका खुड्किला बनाउने क्रममा भ्रष्टाचार
विशेष अदालतले कञ्चनपुरस्थित विष्णु धामको खुड्किला निर्माणमा भ्रष्टाचार भएको ठहरसहित यसमा संलग्नलाई सजाय सुनाएको छ । भीमदत्त नगरपालिकाबाट रकम लिई निर्माण नगरेर हिनामिना गरेको भन्दै उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्टलाई सजाय तोकिएको हो ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यस मुद्दामा विष्टलाई दोषी ठहर गर्दै चार लाख ५० हजार रुपैयाँ बिगो र जरिवाना तिराउने आदेश दिएको हो । विष्टविरुद्ध अख्तियारले १५ फागुन ०७६ मा मुद्दा दर्ता गराएको थियो ।

उक्त नगरपालिका वडा नं. ३ स्थित साकेत धाम विष्णु मन्दिरमा खुड्किला निर्माण योजनाका लागि आर्थिक वर्ष २०६५÷६६ मा साढे चार लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष रहेका विष्टले न त खुड्किला निर्माण गरे न त रकम फरफारक गरे । यसैलाई आधार मानेर उक्त बिगो र जरिवाना तोकिएको हो ।

विशेष अदालतका उपरजिष्ट्रार नारद भट्टराईका अनुसार उनीसमेत प्रतिवादी रहेको अर्को मुद्दामा पनि फैसला भएको छ । उक्त मुद्दामा २८ चैतमा सजाय निर्धारण हुने उनले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टसमेत गरी दुई जनालाई प्रतिवादी बनाइ १८ जेठ २०७७ मा मुद्दा चलाएको थियो । जसमा नवराज जोशीलाई सफाई भएको छ भने विष्ट दोषी ठहर भएको उपरजिष्ट्रार भट्टराईले जानकारी दिए ।

विष्टले भीमदत्त नगरपालिकास्थित शहीद स्मृति सामुदायिक वन उपभोक्ता समितिको नाममा रहेको सवारी साधन विक्रि गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ । अख्तियारका अनुसार विष्टले वनले खरिद गरेको ट्र्याक्टर अन्य व्यक्तिका नाममा रहेको भेटिएको थियो ।

विष्टले १२ लाख ९० हजार रुपैयाँ तिरेर खरिद गरेको ट्र्याक्टर नवराज जोशीका नाममा रहेको देखिएको थियो । जसपछि उक्त रकमबराबर बिगो मागदाबी गर्दै अख्तियारले मुद्दा चलाएकोमा अदालतले विष्टलाई दोषी र जोशीलाई निर्दोष ठहर गरेको हो । यस मुद्दामा २८ चैतमा सजाय निर्धारण हुनेछ ।