काठमाडौँ। एमालेका मन्त्रीले आज मधेस प्रदेशको सरकारबाट दुई बजे राजीनामा दिँदैछन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केन्द्रमा रहेको गठबन्धन अनुसार प्रदेशमा पनि सरकार बनाउने भएकाले सहजता बनाई दिन आग्रह गरेको हुनाले आफूहरू सरकारबाट राजीनामा दिन लागेको एमालेका प्रदेश सभा सदस्य एवं भौतिक मन्त्री सरोज यादवले बताए ।
यसअघि एमालेसहितको गठबन्धनले केन्द्रसहित सबै प्रदेशमा सरकार बनाएको थियो । कांग्रेससँग गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारमा रहेका एमालेका मुख्यमन्त्री र मन्त्रीहरू धमाधम सरकार छाड्दै छन् ।
मधेस प्रदेशमा एमालेले सरकार छाडेपछि कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी सहभागी हुने जनाइएको छ ।
जनमत पार्टी केन्द्रीय सरकारबाट फिर्ता भइसकेपछि मधेस प्रदेशमा के गर्ने त्यसको बारेमा अझै केही निर्णय लिएको छैन । उपनिर्वाचन पछि मधेस प्रदेशको सरकारमा रहने कि नरहने त्यसको बारेमा निर्णय लिने बताइएको छ ।