• जेष्ठ १० २०८३, आईतवार

विमानस्थलमा पार्किङ भाडा महँगो भएकाले विरोधमा उत्रिए ट्याक्सी चालकहरु

चैत्र २१ २०७९, मंगलवार

काठमाडौं।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका छन् ।

आज मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । विमानस्थल बाहिर भने ट्याक्सीहरु चलिरहेका छन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्कबापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको र १०० रुपैयाँ पुर्‍याउने धम्की दिइएको भन्दै ट्याक्सी चालकहरु लामो समयदेखि विरोधमा उत्रिएका छन्। यसअघि १३ मंसिरमा उनीहरुले विमानस्थलको गेट अगाडि बसेर विरोध प्रदर्शन गरेका थिए ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । त्यहाँ पार्किङ गर्ने सवारी साधनका धनीहरुले महँगो शुल्क तिर्नु परेको गुनासो गर्दै आएका छन् । उनीहरुले भाडाका ट्याक्सीहरुको पार्किङ शुल्क घटाउन माग गर्दै यसअघि ज्ञापन पत्र पनि बुझाएका थिए । तर माग सम्बोधन नभएको र वार्तामा समेत नबोलाएको भन्दै ट्याक्सी चालकहरु आन्दोलनमा छन् ।