• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपति-मुख्यमन्त्री पाएसँगै हौसिएको जसपालाई बारा-२ जित्नैपर्ने चुनौती

चैत्र १९ २०७९, आईतवार

काठमाडौं । तत्कालीन एवं वर्तमान सत्ता गठबन्धन फलिफाप भएको जसपालाई उपनिर्वाचनको बाजी मार्ने चुनौती थपिएको छ ।

आसन्न बैशाख १० मा हुने उक्त निर्वाचनमा प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्र–कांग्रेसले भरपूर सहयोग गर्ने पक्का भइसकेको छ । किनकि हालसम्म बारा–२ मा यी दुवै ठूला दलले जसपाविरुद्ध आफ्ना उम्मेदवार खडा गरेका छैनन् ।

उपराष्ट्रपतिको निर्वाचनमा पनि जसपाका उम्मेदवार तथा अहिलेका उपराष्ट्रपति रामसहाय प्रसाद यादवविरुद्ध माओवादी केन्द्र–कांग्रेसले उम्मेदवार उठाएन । केही दिनअघि बसेको माओवादी केन्द्रको बैठकले बारा–२ मा हुने निर्वाचनमा जसपालाई सघाउनेबारे छलफल भएको पार्टी महासचिव देवप्रसाद गुरुङले बताए । यद्यपि यस विषयमा निर्णय भने भएको छैन ।

त्यस्तै कांग्रेसले पनि जसपालाई नै सघाउने देखिन्छ । उसले यस विषयमा आधिकारिक निर्णय नगरे पनि जसपालाई नै सघाउने निश्चित जस्तै छ । आइतबार जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट यसबारे निर्णय हुन सक्ने पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले बताए । यो समाचार तयार पार्दासम्म बैठक जारी नै रहेकोले निर्णय भने भएको छैन ।

सत्ता गठबन्धनमै आवद्ध दलहरू लोसपाले नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने सम्भावना छ । रास्वपाले भने रमेश खरेललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । जसपाबाट पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार बनाउने झन्डै निश्चित भइसकेको एक नेताले बताए ।

यदि यादव नै बारा–२ को उम्मेदवार बनेमा महतो र खरेलसँग भारी प्रतिस्पर्धा गर्नुपर्ने छ । किनकि यी दुवै राजनीतिका चर्चित अनुहार हुन् । महतो २०७८ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा शहरी विकास मन्त्री थिए । उनलाई मधेसको राजनीतिमा सिद्धहस्त मानिन्छन् । तर, गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए ।

त्यसैगरी रमेश खरेल नेपाल प्रहरीमा हुँदा कमाएको लोकप्रियता ताजै छ । खरेलको राजनीति भन्दा वैयक्तिक फ्यान फलोर्स अधिक छ । यसले खासै प्रभाव नपारे पनि उनी राजनीतिमा होमिएसँगै चर्चित भने नबनेका होइनन् । तथापि गत निर्वाचनमा भने उनले पनि पराजय भोग्नु परेको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव पनि मधेसको राजनीतिको चतुर खेलाडीका रूपमा परिचित छन् । उनी सत्ता र शक्ति प्राप्तिका लागि जुनसुकै दलसँग कार्यगत एवं पार्टी एकता गर्न तयार हुन्छन् । त्यतिमात्रै नभएर उनी पार्टी फुटाउन पनि पछि पर्दैनन् । पदिय दायित्व र जिम्मेवारीले यादव पार्टी अध्यक्ष हुन् भने यसअघि उनी पनि उपप्रधानमन्त्री भइसकेका छन् । गत निर्वाचनमा यादव पनि पराजयको सिकार बनेका थिए ।

यी तीनै जना पराजित अनुहारमध्ये एक जनालाई बारा–२ का मतदाताले विजयी गराउने जिम्मा पाउने दिन नजिँकिएको छ । यस निर्वाचन क्षेत्रलाई आफ्नो पोल्टामा पार्न दलहरू दिनहुँजसो विभिन्न सभा समारोहमा व्यस्त देखिन्छन् ।

जताजता सत्ता उतैउतै जसपाको उपमा पाएको जसपाले तत्कालीन एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धन हुँदा मधेस प्रदेशको नेतृत्व गर्ने मौका पायो । त्यसपछि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरबदल गरेर कांग्रेससँग सत्ता गठबन्धन गरे र जसपा पुनः वर्तमान गठबन्धनमा संलग्न भयो ।

वर्तमान सत्तामा रहँदा उसले उपराष्ट्रपति पाएको छ । देशका ठूला दल कांग्रेस–माओवादी केन्द्रले उपराष्ट्रपतिमा महेन्द्रराय यादवलाई विजयी गराए । यतिले नपुगेर जसपाले बारा–२ मा गठबन्धनमा आवद्ध दलहरूले सघाउनै पर्ने माग अगाडि सार्यो । त्यसपछि मधेसवादी दल लोसपा र जनमतले नै साथ दिएनन् । यी दुवै दल जसपाविरुद्ध उत्रिने भएका छन् ।

जसपाले उपराष्ट्रपति–मुख्यमन्त्री पाएपछि गठबन्धनमा अन्याय भएको भन्दै जनमत पार्टी केही दिनअघि सरकारबाट बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने उम्मेदवार उठाएको छैन । निर्वाचन आयोगले सोमबारसम्म दलहरूबाट उम्मेदवार दर्ता आह्वान गरेको छ । एमालेले आज (आइतबार)सम्म उम्मेदवार तय गर्ने बताइएको छ ।