नारायणगढ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले भृकुटी कागज कारखाना सहित अन्य उद्योगहरु बेच्ने विदेशी दलालहरुलाई कारखाना मै चिहान बनाइदिने धम्की दिएका छन् ।
आज सो पार्टीको केन्द्रीय समितिको जनसंघर्ष परिचालन समितिले नवलपुरको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना परिसरमा आयोजना गरेको सभामा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले दलाल संसदीय व्यवस्थाले देशको निकास दिन नसकेकै कारण नेपाली उद्योगकाहरु बन्द भएको बताए । उनले देशका नेताहरू विदेशी दलालहरुको दलाल बनेकै कारण यस्तो अवस्था सिर्जना भएको भन्दै आक्रोश व्यक्त गरे । नेपालको सम्पति लुट्ने विदेशीलाई उनले डाँकाहरुको संज्ञा दिएका छन् ।
उनले भने,‘त्यसकारण दलाल नोकरशाही सामन्तीहरुलाई सफा गर्ने अभियान स्वरूप यो अभियान संचालन गरिरहेका छौं, यस अभियानमा सबै सहभागी हुन समेत अपिल गर्दछौं ।’
अहिलेको व्यवस्था दलाल पुँजीवादी संसदीय व्यवस्था भएकोले यसको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था सहितको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बास्तोलाको भनाई रहेको छ । दलाल संसदीय व्यवस्थाले हत्या, हिंसा, बलत्कार, लुटपाट आतंक मच्याउँदै राज्य आतंक मच्याएको समेत उनको आरोप छ ।
उनले संघर्षकै शिलशीलमा मिटरब्याजी आतंक चलाउने बैंक तथा लघुवित्तहरुलाई अफ्नो पार्टीले कार्वाही गरिरहेको भन्दै सिराहाको सिर्जनशील लघुवित्तका सञ्चालक तथा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई आफ्नो पार्टीले कारवाही गरेको बताए ।
साथै बास्तोलाले त्यस्ता सुदखोरहरुलाई गाउँ र शहरबाट लखेटेर निस्तेज पारि नेपाली जनताका लागि नेपाल सरकारको बैंक मात्रै संचालन गर्नुपर्ने बताए ।
जनसंघर्ष परिचालन समितिका संयोजक उदय बहादुर चलाउने ‘दिपक’ले देशमा विदेशी दलालहरुको चकचकी हेर्दा अर्को जनयुद्धको आवश्यकता परिसकेको समेत बताए ।
उनले जनताको रगत र पसिना तथा छिमेकी मित्र देशहरूको सहयोगमा बनेका उद्योगहरु दलालहरुलाई बेचेर प्रजातन्त्र र क्रान्तिका नाममा भजाएर खाने गद्दार र धोकेबाज लुटेराहरुलाई चोकचोकमा र गाउँ गाउँमा न्यायालय गठन गरेर कार्वाही गर्नुपर्ने बताए ।
उनले भृकुटी कागज कारखाना किन्ने र बन्द गर्ने गोल्छाले बक्यौता र मजदुरहरुको पैसा तिर्नुपर्ने र यदि नतिरेमा उसका बैंक र अन्य कम्पनीहरु पनि समेत नेपालबाट सधैंका लागि जनताहरुले खोसेर बन्द गरिदिनु पर्ने दावी गरे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य घननाथ सापकोटा, विद्रोही नेकपा (मशाल)का स्थायी समिति सदस्य कृष्ण कँडेल लगायतका आतिथिहरुले सम्बोधन गरेका थिए ।