काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरु हुने एसइई परीक्षालाई मर्यादित बनाउन निर्देशन दिएका छन् ।
परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन उनको आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूको उज्जवल भविष्यको कामना गर्दछु। एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा भूमिका खेल्न परीक्षासँग सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।’
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।
यस वर्षको एसइईमा ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुने भएका छन् ।
देशभरका ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ ।
यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । २ लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार ९ सय १७ छात्रा सहभागी हुँदै छन् । पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् ।