• जेष्ठ १० २०८३, आईतवार

सापटी रकम फिर्ता नगरेपछि साथीको हत्या, शव पानी ट्यांकीमा फालियो

चैत्र १६ २०७९, बिहीबार

दमौली । तनहुँमा महिलाको हत्या गरी शव पानी ट्यांकीमा फ्याँकेको घटनामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय तनहुँले बिहीबार घटनाबारे सार्वजनिक गरेको हो ।

धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई पोखरा महानगरपालिका-१२ अमरसिंह चोकमा डेरा गरी बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको थियो । उनी पोखरामा फलफूल तथा बदाम बेच्ने काम गर्थिन् । उनको हत्या गरेको आरोपमा प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-५ घर भई पोखरा-७ घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनारलाई पक्राउ गरेको हो ।

प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेको छ । उनी पोखरा-४ का ४० वर्षीय सुन व्यवसायी रविनकुमार गहतराज हुन् । गत आइतबार बिहान ११ बजे म्याग्दे गाउँपालिका-४ मनहरीस्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानी ट्यांकीभित्र शव फेला परेको भन्ने सूचना प्रहरीले पाएको थियो । केही दिनदेखि पानीमा गन्ध आइरहेको भन्ने खबर पाएपछि खानेपानीका कर्मचारी गएर ट्यांकी हेर्दा शव फेला परेको हो ।

उक्त ट्यांकीबाट १३६ घर परिवारलाई पानी वितरण गरिएको थियो । त्यस ट्यांकीको पानी खाएर केही बिरामी समेत परेको प्रहरीले जनाएको छ । कार्यालयका प्रमुख अबदेश विष्टका अनुसार शव गलिसकेको अवस्थामा फेला परेको थियो । ‘खबर पाएपछि मेरो नेतृत्वमा अनुसन्धान टोली खटिएको थियो ।

शव निकालेर हेर्दा टाउकोमा चोट, घाँटीमा रातो रंगको पछ्यौराले कसेको, बायाँ कान च्यातिएको, छाती र पेट गलेको, निधारमा चोट, छाला खुइलिएको अवस्थामा थियो,’ उनले भने । सुरूमा ती महिलाको सनाखत भएको थिएन तर उनको गोजीमा एउटा चिट फेला परेको थियो ।

उक्त चिटमा फोननम्बर लेखिएको एसपी बिष्टले बताए । उक्त नम्बरको आधारमा बुझेर पोखरामा रहेका मृतकका छोरासँग सम्पर्क भएको थियो । उनकै छोराले मृतकको सनाखत गरेको एसपी विष्टले बताए । शवको प्रकृतिले पनि कसैले लुटपाट गर्न हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो ।

त्यस अनुसार प्रहरीले प्राविधिक रूपमा अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा प्रहरीले उनको कल रेकर्डहरू पनि निकालेको थियो । उक्त रेकर्डमा पछिल्लो समय प्रकाशसँग धेरैजसो कुराकानी हुने गरेको खुलेको एसपी विष्टले बताए । शान्तिका श्रीमान केही समयअगाडि नै बितेका थिए । पछिल्लो समय प्रकाशसँग पटक/पटक भेटघाट तथा कुराकानी हुन्थ्यो ।

‘उनीहरूबीच दुई वर्षअघि चिनजान भएको थियो । पटकपटक भेटघाट पनि भएको र व्यावहारिक रूपमा नगद पनि आदानप्रदान भएको रहेछ,’ एसपी विष्टले भने । शान्तिले उनीसँग १० हजार रुपैयाँ लिएकी थिइन् तर उनले माग्दा फिर्ता गरेकी थिइनन् ।

गत फागुन २१ गते भने प्रकाश काठमाडौं जाने भन्दै हिँडेका थिए । उनी तनहुँ आएका थिए । ‘तनहुँबाट बिहानै शान्तिलाई फोन गरेको रहेछ । त्यसपछि शान्तिले पनि त्यही एक जनासँग लिनुछ, लिएर दिन्छु भनेपछि उनी पनि तनहुँ आइन्,’ एसपी विष्टले भने, ‘तर केही गरी पैसा मिलेन । उनका छोरा पनि बिरामी छन् भनेर दिन सकिनन् ।’

पैसा फिर्ता गर्न नसकेपछि प्रकाशले शान्तिको फोन लिएर भाग्न खोजेका थिए तर शान्तिले प्रतिकार गर्दा प्रकाशले इट्टाले हिर्काए । उनले फेरि सलले घाँटी पनि न्याँकेर हत्या गरेको प्रहरीले जनाएको छ । शान्ति हराइरहेको भनेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि निवेदन परेको थियो तर उनी फेला परेकी थिइनन् ।

उनको शव फेला परेपछि अनुसन्धानकै क्रममा प्रहरीले बुधबार शुक्लागण्डकी नगरपालिका-१ थप्रेकस्थित ससुरालीबाट उनलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरेपछि प्रहरीले गरगहनाको पनि खोजी गरेको छ । प्रकाशले लुटेको गहना पोखरा-४ महेन्द्रपुलस्थित रजनी सुनचाँदी पसलमा बिक्री गरेका थिए ।

सुन व्यवसायी रविनकुमारले बिनाबिल उक्त सुन किनेका थिए । उनले बरामद गरेको सुनको स्वरूप नै परिवर्तन गरी ८० लालको सुनको ढिक्का बनाइसकेका थिए । त्यसपछि प्रहरीले उनलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । प्रहरीले दुबै जनामाथि कर्तव्य ज्यान मुद्दा शिर्षकमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।