• जेष्ठ १० २०८३, आईतवार

बीमा रकम पाउन करेन्ट लगाएर आफ्नै श्रीमानको हत्या गरेको खुलासा

चैत्र १५ २०७९, बुधबार

काठमाडौं । बीमा रकम पाउनका लागि सप्तरीमा आफ्नै श्रीमानको हत्या गरेको घटना बाहिरिएको छ । जिल्लाको कञ्चनरूप नगरपालिका-३ दास टोलकी कोशिलादेवी दासले बीमा रकम पाउनकै लागि श्रीमानको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

गत कात्तिक ६ गते आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । तर, घटनामा मृतकको श्रीमती कोशिला र देउरानी हिरनदेवी दासको संलग्नता रहेको बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार दुवैजनाले दासलाई करेन्ट लगाएर हत्या गरेका थिए ।

शिवशंकरको श्रीमती र नातामा भाउजू पर्ने शान्तिदेवी दासको सहयोगमा हत्या गरिएको उनले बताए । अहिले दुवैजना प्रहरी हिरासतमा छन् । उनीहरूले प्रहरीसमक्ष ऋण चुक्ता गर्न र छोरीको विवाह गर्ने दासको हत्या गरेको बयान दिएको प्रहरी नायव उपरीक्षक रायले बताए ।

प्रहरीका अनुसार शिवशंकर र कोशिलादेवीले छोरीको विवाह गर्न र बीमा गराउनका लागि भाउजू नाता पर्ने शान्तिदेवीसँग ऋण लिएका थिए । ऋण चुक्ता गर्न शान्तिदेवीले कोशिला र शिवशंकरलाई तनाव दिँदै आएकी थिइन् ।

शिवशंकर र कोशिलादेवीले ऋण तिर्न असमर्थता देखाउन थालेपछि शान्तिदेवीले नै हत्या गर्न सुझाएको तथा हत्यापछि आउने बिमा रकमबाट ऋण चुक्ता भएर अरू रकम बाँकी रहने भन्दै योजना तयार पारेकी थिइन् । योजना अनुसार कात्तिक ५ गते शान्तिदेवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर घरतर्फ पठाएकी थिइन् ।

मदिरा सेवन गरेर घर पुगेका शिवशंकर भान्सा कोठामै सुतेपछि सुतेकै बेला कोशिलादेवीले शिवशंकरको बायाँ हातको साहिँली औँलामा तार बेरेर करेन्ट लगाएको प्रहरीको भनाइ छ ।