• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपति-मुख्यमन्त्री पाएसँगै बारा-२ हाँक्ने दाउमा जसपा, जनमत पार्टी रुष्ट

चैत्र १५ २०७९, बुधबार

काठमाडौं । पुष १० को एमाले–माओवादी सत्ता गठबन्धन ताका मधेस प्रदेश सरकारको नेतृत्व गर्ने मौका जसपाले पाएको थियो ।

तत्कालीन गठबन्धन तोडिएपछि वर्तमान कांग्रेस–माओवादीको सत्ता गठबन्धन बनेपनि हालसम्म मधेसको नेतृत्व जसपाले नै गरेको छ । सोही प्रदेशमा जसपाबाट निर्वाचित सरोजकुमार यादव मुख्यमन्त्री छन् । त्यस्तै उपराष्ट्रपतिको निर्वाचनमा जसपाकै तर्फबाट रामसहाय प्रसाद यादवले बाजी मारे ।

त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादव बैशाख १० मा हुने उपनिर्वाचन हाँक्ने दाउमा छन् । बारा–२ बाट निर्वाचित रामसहाय प्रसाद उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र रिक्त छ । उक्त क्षेत्र जसपाले पाउनुपर्ने भन्दै सत्ता गठबन्धनभित्र यादवले लविङ गरिरहेका छन् ।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा र यादवबीच भेटवार्ता भएको थियो । भेटमा यादवले देउवालाई उपनिर्वाचनमा सघाउन आग्रह गरेका थिए । देउवाले भने पार्टीको सल्लाह पश्चात् जसपालाई नै बारा–२ मा सघाउने आश्वासन दिएका थिए ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार, ‘देउवासँगको भेटमा यादवले मधेस प्रदेशको नेतृत्वको निरन्तरता र बारा–२ मा जसपाकै उम्मेदवार खडा गर्ने विषयमा छलफल गरेका थिए । सत्ता गठबन्धनको तर्फबाट बारामा जसपा बाहेक अन्य दलको उम्मेदवार खडा गर्न नहुने देउवा समक्ष अनौपचारिक प्रस्ताव राखेका थिए ।’

तथापि सभापति देउवाले यस विषयमा आफू एक्लैले निर्णय लिन नसक्ने यादवलाई बताएको ती सदस्यले गोल खबरलाई बताए । पार्टीको आन्तरिक छलफल र निर्णयपछि मात्रै यसबारे बोल्न सकिने देउवाले बताएका थिए । तर, उनले यादवलाई भरपूर सहयोग गर्ने आश्वासन दिएको ती नेता बताउँछन् ।

अध्यक्ष यादवले प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि अनौपचारिक भेट गरिसकेको स्रोत बताउँछ । प्रधानमन्त्रीसँगको भेटमा यादवले बारा–२ को निर्वाचन क्षेत्रमा जसपाले नै आफ्नो उम्मेदवार खडा गर्ने भएकोले सघाउन आग्रह गरेका थिए ।

प्रचण्डले यसबारे सत्ता गठबन्धन र आफ्नो पार्टीमा छलफल गर्ने बताए । पार्टीको आन्तरिक छलफल पश्चात् मात्रै औपचारिक धारणा सार्वजनिक गर्ने यादवलाई बताएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै पार्टीका एक केन्द्रीय सदस्यले बताए ।

यादवले प्रधानमन्त्री लगायत अन्य दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिएको उनी बताउँछन् । तर बारा–२ मा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा जसपा एक्लैले निर्णय गर्न नहुने उनको तर्क छ । सत्ता गठबन्धनलाई निरन्तरता दिन र सरकारलाई पाँच वर्षसम्म टिकाइ राख्न बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनमा १० दलको सहमतिको आधारमा उम्मेदवार खडा गरिने ती सदस्यले बताए ।

उता जसपाले बारा–२ मा हुने उपनिर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार खडा गर्ने रटान लगाउँदै आएको छ । यसका लागि उसले गठबन्धन भित्रका केही ठूला राजनीतिक दलका शीर्ष नेतासँग पहिलो एक चरणमा छलफल गरिसकेको छ ।

बारा–२ मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनले जसपाको पक्षमा निर्णय गर्ने सम्भवना न्यून रहेको राजनीतिक वृत्तमा चर्चा छ । यदि जसपाको पक्षमा गठबन्धनको सहमति जुटेमा अध्यक्ष उपेन्द्र यादव स्वयं बारा–२ मा उम्मेदवार बन्ने चर्चा छ । यदि सहमति नजुटे र पराजित हुने अवस्था सिर्जना भए जसपाले उम्मेदवार खडा नगर्ने आकलन गरिएको छ ।

जनमत पार्टी रुष्ट

जसपाले उपराष्ट्रपति र मधेस प्रदेशको नेतृत्व सम्हालेको छ । तथापि मधेसको सबैभन्दा ठूलो दल जनमत पार्टी संघीय सरकार र प्रदेश सरकारमा संग्लन भए पनि सन्तुष्ट देखिँदैन । किनकि उसले यसअघि एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धनमा संलग्न भएकै बेला सकभर उपराष्ट्रपति नभए मधेस प्रदेशको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेको थियो ।

तर, राजनीतिक खिचातानी र भागबण्डाकै क्रममा न उसले उपराष्ट्रपति पायो न मुख्यमन्त्री । यी दुवै पद गुमाएपछि जनमत पार्टी सत्ता गठबन्धनसँग रुष्ट छ । अध्यक्ष चन्द्रकान्त रावत (सिके)ले यस विषयमा पार्टीका विभिन्न सार्वजनिक तथा सञ्चार माध्यममा रोष प्रकट गर्दै आएका छन् ।

आसन्न बैशाख १० मा हुने उपनिर्वाचनमा बारा–२ मा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार खडा गर्ने अध्यक्ष सिकेले बताउँदै आएका छन् । यसका लागि उनले सकभर गठबन्धनमा सहमति खोज्ने नभए मित्रवत् प्रतिस्पर्धा गर्न तयार भएको बताउँदै आएका छन् ।

संघीय सरकारको मन्त्रिपरिषद्ले पूर्ण आकार पाएसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ । प्रदेश सरकार गठन हुँदा मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने जनमतले बताएको छ ।