• जेष्ठ १० २०८३, आईतवार

आर्थिक संकटले मिडियामा पारेको असरका बारेमा लुम्बिनीमा मिडिया सम्मेलन हुँदै

चैत्र १५ २०७९, बुधबार

दाङ । नेपाल पत्रकार महासंघले लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन गर्ने भएको छ । महासंघले आफ्नो ६८औं स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानूनहरूका विषयमा बृहत् बहस र छलफल गरिने बताए ।

सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धानकर्ताहरू समेत सहभागी हुनेछन् । सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुनेछन् । सम्मेलनको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ ।

१६ गते महासंघले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभात फेरि गर्ने कार्यक्रम छ । परासीमै महासंघको ८औं बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।