• जेष्ठ १० २०८३, आईतवार

काठमाडौं आएका मिटरब्याजी पीडितहरु बिरामी पर्न थाले, वार्ता पनि स्थगित

चैत्र १५ २०७९, बुधबार

काठमाडौं । आफ्ना माग पूरा गराउन काठमाडौं आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । अस्वस्थताकै कारण उनीहरुले सरकारसँगको वार्ता पनि बिहीबारलाई सारेका छन् । बुधबार मध्यान्हसम्म नियमित जस्तै धर्नामा जाने कि नजाने भन्नेबारेमै उनीहरु अन्योलमा छन् ।

काठमाडौंमा १२ दिन पैदल यात्रा हिंडेर आएका ७३ मध्ये ५५ जना भन्दा धेरैलाई मंगलबार रातिदेखि सञ्चो नभएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले जानकारी दिए ।

‘हामीले प्रेशर जाँच गरेका थियौं सबै जनाको लो पायौं । रुघाखोकी तथा केहीलाई सामान्य ज्वरो पनि छ,’ दाहालले भने, ‘संघर्ष समितिका संयोजक मनोज पासवान आफै बिसन्चो भएका कारण सरकारसँग वार्ता गर्नका लागि एजेन्डामा विस्तृत छलफल समेत हुन सकेको छैन ।’

बिरामीका कारण बुधबार बिहान सरकारी वार्ता टोली संयोजकलाई फोन गरेर बिहीबार मात्रै वार्ता गरौं भनेर जानकारी गराएको उनले बताए । अहिले काठमाडौंमा मिटर ब्याज पीडित हामी ११५ जना छौं, जसमध्ये हिंडेर काठमाडौं आएका अधिकांश बिरामी परे’ दाहालले भने ।

मंगलबार बिहानैदेखि टंगाल, भद्रकाली, माइतीघर र बानेश्वर धर्ना दिए पनि बुधबार धर्नाका कार्यक्रम तय गर्नै नसकेको दाहालको भनाइ छ । अब केही बेरमा पुनः छलफल गरेर आन्दोलनका कार्यक्रमलाई भने निरन्तर नै राख्ने पनि उनले बताए ।