काठमाण्डौ। वर्षा र सहकालका देवताका नाकले चिनिने सेतो मच्छेन्द्रनाथको रथयात्राको आज देखि सुरु हुने भएको छ । आज दिउँसो चार बजे काठमाण्डौको इन्द्रचोक नजिकै रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा रहेको तीनधारा पाठशाला अगाडि लगिने चलन रहिआएको छ । त्यसपछि मूर्तिलाई खटबाट निकालेर रथमा राखेर रथयात्रा शुरु गरिन्छ ।
हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ ।आज सेतो मच्छेन्द्रनाथको रथलाई तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइनेछ।
असनमा आज राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा हुने गर्छ ।
असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहाल लगरेर अन्त्य गर्ने चलन छ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल हुने धार्मिक विश्वास छ ।
रथ दोस्रो दिन भोलि असनबाट वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगनसम्म तानेर जात्रा गर्ने परम्परा छ ।