सिराहा । सिरहाको गोलबजार नगरपालिका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका हुन् ।
मेयर श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए । उनले भने, ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडीभित्र पसेको मात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएर एकजनालाई समाएँ अर्को भने भाग्न सफल भयो ।
मोबिल छ्याप्नेहरूले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ । पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका १ का साविशरण महरा रहेको बताइको छ । पक्राउ परेका महरालाई जिल्ला प्रहरी सिरहाको नियन्त्रणमा राखिएको छ ।
उनीहरूले छरेको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठलाई लघुवित्त मार्फत् गरिब जनतालाई उठीबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेको उल्लेख गरिएको छ ।
पर्चामा फर्जी कागज बनाई गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदीको दोहन गरेको, अन्याय पूणर् तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र हाम्रा नेता कार्यकर्ता विरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको उल्लेख गरेको छ ।