• जेष्ठ १० २०८३, आईतवार

मर्यादा विवादको विषयमा सर्वोच्चले बोलायो फुलकोर्ट बैठक

चैत्र १४ २०७९, मंगलवार

काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रिय सभामा टेबल भएको विधेयकबारे सार्वजनिक रुपमा विवाद भएसँगै सर्वोच्चले सो बारे छलफल गर्नका लागि फुलकोर्ट बैठक बोलाएको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले दिउँसो ४ बजेका लागि फुलकोर्ट बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । नयाँ विधेयकले विगतमा भएको आलोचनालाई सच्याउनुको साटो अझै तल्लो मर्यादाक्रममा प्रधानन्यायाधीशलाई राखिएको छ। प्रधानन्यायाधीशलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षभन्दा तल्लो बरियतामा राखिएको छ ।

नयाँ विधेयकले कानुनको रुप लिएमा प्रधानन्यायाधीश पाँचौ स्थानको मर्यादाक्रममा हुनेछन्। तर उक्त कार्य नेपालको संविधान २०७२ समेत विपरीत हुने र राज्यका तीन अंगमध्ये कार्यपालिकापछि रहेको न्यायपालिकाको प्रमुखलाई व्यवस्थापिका प्रमुखभन्दा तल्लो बरियतामा राख्ने प्रस्तावमा सर्वोच्चले असन्तुष्टि जनाएको छ।

चैत ५ गते राष्ट्रिय सभाका सत्तापक्षका सांसदहरुले नेतृत्व गर्दै राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ गैर सरकारी विधेयक दर्ता गराएका थिए । उक्त विधेयक राष्ट्रिय सभामा टेबल समेत भएको छ। राष्ट्रिय सभामा विधेयक टेबल भएसँगै यसको आलोचना पनि सुरु भएको छ।

राष्ट्रिय सभामा टेबल भएको उक्त विधेयकमा अर्को बैठकले विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछ। त्यसपछि विधेयकमाथि संशोधन सुरु हुनेछ। राष्ट्रिय सभाबाट उत्पति भएकाले उक्त विधेयक प्रतिनिधि सभामा पनि आउनेछ। दुवै सदनबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ।