काठमाडौं । राष्ट्रिय झण्डाको अपमान हुने गरी अब कम्मरभन्दा मुनी झण्डाको प्रयोग गर्न नपाइने गरी कानुन ल्याइने भएको छ । झण्डाको दुरुपयोग रोक्नका लागि राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०७९ मा राष्ट्रिय झन्डा प्रयोग सम्बन्धी सो कुरा उल्लेख गरिएको छ ।
विधेयकको १३औँ दफामा ‘राष्ट्रिय झन्डा प्रयोगमा निषेध’ सम्बन्धी व्यवस्था छ । १३ को उपदफा च मा लखिएको छ–‘शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि भित्री/बाहिरी कपडामा राष्ट्रिय झन्डाको प्रतीक/चित्र राख्न पाइनेछैन ।’ दफा १३ अनुसार राष्ट्रिय झन्डा ७ अवस्थामा प्रयोग गर्न नपाइने भएको हो ।
दफा १३ को उपदफा (ग) अनुसार राष्ट्रिय झन्डा च्यात्न, जलाउन वा कुनै पनि सामान पोको पार्न पाइने छैन । यस्तै उपदफा घ अनुसार व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झन्डाको दुरूपयोग गर्न नपाइने भएको हो । यसको अर्थ अब कुनै पनि विज्ञापनमा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाउने भन्ने हो । यस्तै चन्द्रमा तल र सूर्य माथि पारेर राष्ट्रिय झन्डा छापिए त्यो प्रयोग योग्न हुने छैन ।
विद्येयकको ११ नम्बर दफामा राष्ट्रिय झण्डाको मर्यादा सम्मानमा आँच नआउने गरी प्रयोग गर्नुपर्ने उल्लेख छ । सो दफाको उपदफा १ मा राष्ट्रिय झण्डाको प्रयोग सम्बन्धनमा राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच नआउने गरी सर्वसाधरण नागरिकले समेत नीजि निवासमा राष्ट्रिय झण्डा प्रयोग गर्न र फहराउन पाउने व्यवस्था गरिएको छ । यसअघि नागरिकले घरघरमा राष्ट्रिय झण्डा फहराउन पाउदैनथे ।
विधेयकको परिच्छेद ७ मा कसुर र सजायको व्यवस्था गरिएको छ । दफा २० मा राष्ट्रिय झन्डा, राष्ट्रिय गान र मर्यादाक्रमको अपमान हुने गरी निजी उद्देश्य प्राप्तिका लागि प्रयोग गरिए कसुर हुने उल्लेख गरिएको छ ।
यस्तै दफा २१ मा सजाय सम्बन्धी व्यवस्था छ । दफा २० अनुसार कसुर गरे प्रमुख जिल्ला अधिकारीले पहिलो पटक सम्झाई बुझाई गर्ने र त्यति गर्दा पनि कसुर गर्न नछाडे २१ को उपदफा २ अनुसार कसुरको गम्भीरता हेरी दश हजार रुपैयाँसम्म जरिवाना गरिने उल्लेख छ । उपदफा ३ मा भने यस्ता कसुर गरेको आधारमा कसैलाई थुनामा नराखिने स्पष्ट लेखिएको छ । यो विधेयक आइतबारको राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।