काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन्। राष्ट्रपति बनेपछि उनी पहिलो पटक काठमाडौँ बाहिर जान लागेका हुन् । यस्तै उपराष्ट्रपति रामसहाय यादव पनि महागढीमाईको दर्शन गर्नका लागि आज पहिलो पटक काठमाडौँ बाहिर बारा जाने भएका छन् ।
नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति पौडेल बिहान साढे ९ बजे गोरखा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
गोरखा पुगेर उनले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गर्ने र बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । उनको आगमनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनी २ घण्टा गोरखामा रहनेछन्।
यसअघि राष्ट्रपति पौडेल काठमाडौंको बसन्तपुर दरबारमा जाँदा र गत मंगलबार घोडेजात्रामा टुँडिखेलमा नेपाली सेनाले आयोजना गरेको औपचारिक समारोहमा सामान्य सवारी गरेका थिए।
आज उपराष्ट्रपति यादव बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ ।
महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, भोलि ९चैत १३० गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ ।
सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।
उनी १४ गते काठमाडौँ फर्किने कार्यतालिका तय भएको छ ।