• बैशाख २७ २०८३, आईतवार

४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

चैत्र ११ २०७९, शनिबार

काठमाण्डौ। त्रिभुवन विश्वविद्यालयमा गत आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भएको छ ।

देशभर गरिएको ६२ आङ्गिक क्याम्पसको चुनावमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १८ आङ्गिक क्याम्पसमा चुनाव हुन बाँकी रहेको छ ।

अहिलेसम्म चुनाव भएका आंगिक क्याम्पसमध्ये अनेरास्ववियु १९, नेविसंघ १८, अखिल क्रान्तिकारी चार, जसपा निकट समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत संघ एक क्याम्पसमा विजयी भएका छन् ।

चुनाव हुन नसकेका केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । काठमाण्डौको नेपाल कमर्श क्याम्पस मीनभवनमा आज चुनाव हुँदैछ ।

भोलि पोखरा वन क्याम्पसमा, चैत १७ गते आयुर्वेद क्याम्पस र कृषि क्याम्पस चितवनमा र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा चुनाव गर्ने तयारी छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसको चुनाव अदालतको आदेशका कारण रोकिएको छ । पोखराकै पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, नर्सिङ कलेज, धवलागिरि बहुमुखी क्याम्पस बागलुङमा विद्यार्थीको तालाबन्दीका कारण चुनाव रोकिएको छ ।

काठमाण्डौ उपत्यकाभित्र रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, अमृत साइन्स, पाटन संयुक्त, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमा पनि ताला लागेको छ ।

स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक चुनाव तोकिएको मितिले एक महिनाभित्र चुनाव गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसकारण अहिले स्थगित भएका क्याम्पसहरूमा आउँदो वैशाख ५ भित्र चुनाव गरिसक्नुपर्छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् ।