काठमाडौं । नेपाली फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यासको घोषणा गरेका छन् । यो घटनालाई धेरैले नेपाली खेलाडीको पलायनको रुपमा बुझेका छन् ।
श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत् सन्यास लिने घोषणा गरेका छन् । उनी सन्यासको घोषणा गरेर अस्ट्रेलिया प्रस्थान गर्दैछन । उनीसँगै डिफेन्डर रजिन धिमाल पनि अस्ट्रेलिया जाँदैछन् ।
पछिल्लो समय नेपाली राष्ट्रिय टिमका दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया गइसकेका छन् । त्यहाँको स्थानीय टिमबाट खेल्नका लागि राष्ट्रिय टिम छाडेर खेलाडीहरु पलायन भइरहेका हुन् । बिहीबार सन्यास घोषणासँगै सुजलले आफूले सम्मान महसुस गरेको बताए । नेपालका लागि ११ वर्षमा ५१ खेल खेलेका सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा दक्षिण एसियाली खेलुकद (साग) मा स्वणर् जितेको थियो ।
‘११ वर्षमा ५१ खेलमा आफ्नो देशको झन्डा छातिमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छ । केहि खुसीका पल त केहि दुःखका, कतै उपाधि त कतै निराश क्षण लगायत या सबै तितामिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्यास घोषणा गर्दछु,’ सुजलको भनाइ छ ।
उनले अघि लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन् र म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिनेछैनन् । अब पालो नयाँ पुस्ताको हो ।’ उनले सबै प्रशंसक र प्रशिक्षकलाई धन्यवाद समेत दिएका छन् ।
‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद, जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरोलागि उपयुक्त समय हो । जय नेपाली फुटबल,’ उनको भनाइ छ ।