• बैशाख २७ २०८३, आईतवार

ज्ञानेन्द्र शाह र राप्रपाका नेताबीच झापामा के कुरा भयो ?

चैत्र ८ २०७९, बुधबार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूबीच बुधबार झापामा भेटवार्ता भएको छ । केही समयदेखि झापामै रहेका पूर्वराजा शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा र नेता प्रकाशचन्द्र लोहनी झापा पुगेका थिए ।

राप्रपाका नेताहरूसँग पूर्वराजा शाहले दमकमा झन्डै २ घन्टा कुराकानी गरे । भेटमा सहभागी राप्रपाका एक नेताका अनुसार पूर्वराजा शाहले पछिल्लो समय राष्ट्रिय राजनीतिमा विकसित भएका राजनीति घटनाक्रम, बदलिँदो भूराजनीति र देशभित्र देखा परेका अन्य समसामयिक विषयबारे छलफल गरेका थिए ।

‘उहाँले पहिला पनि हामीलाई यसो गर, उसो गर भन्नुहुन्थेन । यसपालि पनि त्यस्तो केही भन्नुभएन,’ ती नेताले भने,‘हामीले राजतन्त्र र हिन्दु राष्ट्र एजेन्डा बोक्ने मूल शक्ति हामी नै हौं भन्ने कुरा राख्यौं ।’

केही समयअघि पूर्वराजा शाह झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानमा सहभागी भएको विषय कुराकानी भयो कि भएन भन्ने जिज्ञासा ती नेताले आफूहरूलाई राजा अरूले खोस्छन् भन्ने डर नभएको दाबी गरे । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डाले अझै प्रतिवद्ध भएर जोडतोडका साथ उठाउन निष्कर्षसहित आजको भेट सकिएको उनले जानकारी दिए ।