काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुट्ने बेलामा एमाले अध्यक्ष केपी ओलीसँग भएको सम्वाद प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।
राष्ट्रपतिको उम्मेदवारी मनोनयन (१३ फागुन) अघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले र एमाले अध्यक्ष ओलीसँग निकै पटक सम्वाद गरेका थिए । अन्तिम अन्तिमको छलफलमा आफूले दुबै जना मिलेर कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव राख्दा ओलीले अस्वीकार गरेको दाहालले सुनाए ।
त्यसक्रममा ओलीले आफूलाई धेरै ठूलो शिक्षासमेत दिएर पठाएको भन्दै प्रचण्डले भने, ‘उहाँले मलाई पटक-पटक तपाईं वैशाखभन्दा उता जानुहुन्न । वैशाखमा राष्ट्रपतिको बायाँ पट्टी लविमा तपाईं र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ ।’
प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने र पूर्वप्रधानमन्त्रीको लहरमा आफूसँगै बस्न आइपुग्ने ओलीको भनाइ थियो । एमाले नेताहरुले पनि सार्वजनिक रुपमै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूहरुले सघाउने बताउँदै आएका छन् ।
आइतबार विश्वासको मत लिने प्रधानमन्त्री दाहालको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि डेढ २ महिनामै फेरि विश्वासको मत लिने अवस्था आउन सक्ने बताएका थिए । प्रधानमन्त्री दाहालले भने, उहाँ (ओली) को भनाइलाई पुष्टि गर्ने कि फेल गर्ने हाम्रो हातमा छ ।’