काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले कृषि ज्ञान केन्द्रका कालीकोटका तत्कालीन निमित्त प्रमुख भरतबहादुर बस्नेतलगायत १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकाे छ ।
आयोगले हाल कृषि विकास कार्यालय, कालीकोटमा कार्यररत बस्नेत, मूल्याङ्कन तथा छनोट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालीकोटका अध्यक्षसमेत १२ जना र सिमनाथ कृषि विकास सहकारी संस्थाउपर गैरकानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको दाबी गर्दै सोमबार मुद्दा दायर गरेको हो ।
सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेड, रास्कोट ३, कालीकोटले उच्च प्रविधियुक्त नर्सरी स्थापनाका लागि उपलब्ध गराएको सरकारी अनुदानको पेस्की रकम हिनामिना गरेको, कृषि ज्ञान केन्द्र, कालीकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालीकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, कालीकोटका तत्कालीन सवइन्जिनियर गुरुराज संज्यालविरुद्ध मुद्दा दर्ता भएको छ ।
सिमनाथ कृषि विकास सहकारी संस्था लिमिटेडबाट जडान भएका माल सामानहरूको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी सोही प्रतिवेदनसमेतका आधारमा ६६ लाख ५० हजार रुपैयाँ भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै उनीहरूमाथि मुद्दा चलाइएको हो ।
मूल्याङ्कन तथा छनोट समितिका पदाधिकारीहरू हरिप्रसाद पण्डित, श्रीधर अधिकारी, दीपककुमार भण्डारी, हिरानन्द देवकोटा, अनुप तिवारी, पूर्णबहादुर थापा र होमनाथ लम्सालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।