काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा विरोध सुरु गरेको छ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित हुदाँ–हुँदै सूचना तथा सञ्चार मन्त्रीले विधेयक पेस गरेको भन्दै एमालेले विरोध सुरु गरेको हो।
सभामुख देवराज घिमिरले विधेयक पेस गर्ने अनुमति मन्त्री रेखा शर्मालाई दिएलगत्तै एमाले सांसद योगेश भट्टराईले नियमापत्ति गरेका थिए।
उनले सभामुखलाई प्रधानमन्त्री कार्यालय अन्तर्गतको विधेयक भएकाले प्रधानमन्त्री नै उपस्थित भएको अवस्थामा अर्को मन्त्रीले पेस गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई आफै पेस गर्न निर्देशन दिन माग गरेका थिए।
उनी लगत्तै एमालेका अर्का सांसद रघुजी पन्तले बोलेका थिए। उनले संसद् सुचारु भएको यत्रो दिन भइसक्दा पनि सरकारले सांसदहरुले उठाएको कुरा सम्बोधन नभएकोले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए।
उनले संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने तर्क गरे। लगत्तै सभामुख घिमिरेले रोष्टममा पुगेकी मन्त्री शर्मालाई अघि बढ्न निर्देशन दिए। मन्त्री शर्माले विधेयक टेबल गरिन्।