काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । उनले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका कारण विवादमा तानिएका हुन् ।
शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेको बताए । सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे ।
मुलुकमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखा परेको सभामुख घिमिरेको बुझाइ छ । उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
सभामुख घिमिरेले सरकार र पत्रकारबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराए ।
सभामुख घिमिरेले भने, ‘पत्रकारहरू जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो । अन्यथा नलिनुहोला । यो पत्रकार महासंघ हो । त्यो खालको छैन । पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जेजे कारणले भए पनि तिनीहरू प्रभावित छन् । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू । अब पत्रकारहरू बिक्रीमा छन् । संघ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । र, त्यो भन्नु पनि हुँदैन तपाईंहरूले । किन यो त हाम्रो आफ्नो भित्री कुरा हो नि । त्यसको प्रभाव चाहिँ कुनै न कुनै रूपमा परिरहेको छ । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ ।’