• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपतिमा पराजित जनमतको ‘बटमलाइन’ मधेसको ‘मुख्यमन्त्रीमा’, तत्काल गठबन्धनबाट नबाहिरिने

चैत्र ३ २०७९, शुक्रबार

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममत झा पराजित भइन् । उनलाई १५ प्रदेशसभा सदस्य र २३ जना प्रतिनिधिसभा सदस्यले मतदान गरेका थिए । झाका प्रतिस्पर्धी एमालेकी अष्टलक्ष्मी शाक्य पनि पराजित भएकी छन् । शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ जना प्रतिनिधिसभा सदस्यले मतदान गरेका थिए ।

झा र शाक्यका प्रतिस्पर्धी जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायतका दलहरूले मतदान गरेका थिए । ३२९ प्रदेशसभा सदस्य र १८४ जना प्रतिनिधिसभा सदस्यले यादवलाई मतदान गरे ।

यादव संघीय लोकतान्त्रिक गणतन्त्रको तेस्रो उपराष्ट्रपति निर्वाचित भएसँगै सत्ता गठबन्धनमै रहेको दल जनमत पार्टी संकटमा परेको छ । गठबन्धन दलहरूको सहमति बेगर उसले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवारी खडा गरेको थियो । अघि भर्खरै सम्पन्न उक्त निर्वाचनमा झा पराजित भएसँगै जनमत संकटमा परेको हो ।

एमाले–माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्ध ताका नै जनमत पार्टीले सके उपराष्ट्रपति नसके मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएको थियो । तथापि जसपाले मधेस प्रदेशको मुख्यमन्त्री पाएपछि जनमतले उपराष्ट्रपति पाउनुपर्ने भन्दै बलियो अडान राखेको थियो ।

त्यसपछि एमालेसँगको गठबन्धन तोडेर माओवादी केन्द्रले कांग्रेससँग सत्ता गठबन्ध गरेपछि पनि जनमत पार्टीले पुरानै अडान छोडेको थिएन । तर, त्यसो हुने संकेत नपाएपछि उसले उपराष्ट्रपतिमा आफ्नो उम्मेदवार खडा गर्यो । तर, गठबन्धन दलहरूले नै जनमत पार्टीकी उम्मेदवार ममता झालाई मतदान नगरेपछि उनी पराजित हुन पुगिन् ।

झा उपराष्ट्रपतिमा पराजित भएसँगै जनमत पार्टीका नेताहरू नेतृत्वप्रति असन्तुष्टि जनाउँछन् । जनमतका केही केन्द्रीय सदस्यका अनुसार उपराष्ट्रपतिमा पराजित हुनु नेतृत्वको कमजोरी भएको स्वीकार्छन् । यद्यपि उनीहरूले सत्ता गठबन्धनभित्रै आफूहरूलाई उपेक्षा गरिएको बताए ।

जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र यादव भन्छन्, ‘उपराष्ट्रपतिको पराजयलाई हामी सहर्ष स्वीकार्छौँ । पराजय हुँदैमा हामी तत्काल सत्ता गठबन्धनबाट बाहिरिने भन्ने हुँदैन । हामी यस विषमा थप समीक्षा गर्छौँ । अब गठबन्धनभित्रै कसरी अगाडि बढ्ने भन्ने सोचमा छौँ ।’

यादवले गठबन्धनबाट तत्काल बाहिरिने संकेत नगरे पनि निकट भविष्यमा के गर्ने भन्ने प्रष्ट पारेनन् । उनको भनाइलाई आधार मान्ने हो भने प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् गठन गरे पश्चात् प्रदेश सरकारको पनि फेरबदल हुने र त्यसपछि सत्ता गठबन्धनमा रहने वा नरहने आधिकारिक निष्कर्षमा जनमत पुग्ने छ ।

‘सत्ता गठबन्धनमै रहँदा पनि उपराष्ट्रपति पद गुमाउनु पर्यो । यो हाम्रा लागि सामान्य विषय रहेन । यस विषयमा हामी पार्टीभित्र छलफल गर्ने नै छौँ । यद्यपि हामीले उपराष्ट्रपति पद गुमाउँदैमा गठबन्धनबाट बाहिरिने भन्ने छैन । किनकि हामीले अपेक्षा गरेका मन्त्रालय र मधेस प्रदेशको नेतृत्वको विषयमा छलफल गर्न बाँकी नै छ । यसर्थ जतमत अहिले नै गठबन्धनबाट बाहिरिदैन,’ भन्छन्– नेता सञ्जय साह ।