• बैशाख २७ २०८३, आईतवार

जनमत पार्टीकी ममतालाई आफ्नै प्रस्तावक र समर्थकले नै मत नदिएको खुलासा

चैत्र ३ २०७९, शुक्रबार

काठमाडौं । जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झालाई प्रस्तावक र समर्थक बसेकै पार्टीले मत नदिएको खुलेको छ ।

उपराष्ट्रपतिमा झाको समर्थक र प्रस्तावकमा लोसपा र नागरिक उन्मुक्ति पार्टी रहेका भएपनि यी दुवै दलले जनता जसपाको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय यादवलाई मतदान गरेको खुलेको हो । उम्मेदवार झाको प्रस्तावकमा जनमतका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका अभिराम शर्मा र रूपाकुमारी यादव रहेका थिए ।

यस्तै, समर्थकमा जनमत पार्टीका गोमा लाभ सापकोटा, विनीताकुमारी सिंह, वसन्तकुमार कुशवाहा, नागरिक उन्मुक्ति पार्टीका रामप्रकाश चौधरी र लोसपाका रानीकुमारी तिवारी रहेका थिए ।

लोसपाका मधेश प्रदेशको प्रदेश सभा सदस्य जितेन्द्र सोनलले १० दलीय गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो पार्टीले मतदान गरेको बताए । १० दलीय गठबन्धनको साझा उम्मेदवार रामसहाय यादव रहेको उनको भनाइ छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टी मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहले आज विहान बसेको बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने निणर्य गरेको बताइन् । सोही अनुसार आफूहरूले मतदान गरेको उनको भनाइ छ ।

जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाएसँगै जनमत, लोसपा र उन्मुक्ति पार्टीको बीचमा कार्यगत एकता घोषणा भएको थियो । उपराष्ट्रपति लगायत अन्य राजनीतिक गतिविधिमा सहकार्य गर्ने सहमति तीन दलको बीचमा भएको थियो तर उपराष्ट्रपतिको निर्वाचनमा एकमत हुन नसकेको हो । १० दलीय गठबन्धनमध्ये जनमतबाहेक सबै दलको मत रामसहाय यादवलाई गएको देखिएको छ ।