काठमाण्डौ। नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बेलारुसमा अलपत्र परेका नौ नेपाली महिलालाई स्वदेश फर्काउन माग गरेका छन् ।
विभिन्न वैदेशिक रोजगार व्यवसायी कम्पनीले झुक्क्याएर उनीहरूलाई ‘भिजिट भिसा’मा त्यहाँ पुर्याएको खबर प्राप्त भएको भन्दै खतिवडाले सरकारले अविलम्ब कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिए।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पीडितहरूले विदेशमा आफूहरू अलपत्र भएकाले उद्धार गर्न समाजिक सञ्जालमार्फत हारगुहार गरेको कुरा सञ्चारमाध्यममा आएकाले यथाशीघ्र उद्धार गरी उनीहरूलाई बेलारुस लैजाने कम्पनी र एजेन्टलाई कानुनी कारबाही गर्नुपर्ने बताए ।
उद्धारमा क्रियाशील अभियानकर्मी कृतु भण्डारीले पीडितले सामाजिक सञ्जालका माध्यमबाट उद्धार गर्न आग्रह गरेकाले सम्बन्धित पक्ष संवेदनशील हुनुपर्ने बताइन्।