• माघ १८ २०८१, शुक्रबार

रासायनिक मलमा दिइँदै आएको अनुदान नघटाउन किसान महासंघको चेतावनी

चैत्र ३ २०७९, शुक्रबार

काठमाडौं । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले सरकारले मलको भाउ बढाएकोमा आफ्नो संगठनको ध्यानाकर्षण भएको बताएको छ ।

सो संगठनका अध्यक्ष हरि श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो ध्यानाकर्षण भएको जनाएका हुन् । विज्ञप्तिमार्फत् श्रेष्ठले नेपालमै मल कारखाना खोल्न सरकारसित माग गरेका छन् ।

उनले विदेशीको दलाली गरेर नेपाली जनतामाथि कमिसनको लुट मच्चाएको सरकारले सरकार टिकाउनकै लागि रासायनिक मल लगायतका वस्तुहरुको भाउ बढाएको दावी गरेका छन् । अध्यक्ष श्रेष्ठले आफ्नो संगठन नेपाली किसानका समस्या समाधान गर्न संघर्षरत रहेको भन्दै विदेशीको गुलाम बनेको सरकारले नेपाली किसानलाई निरुत्सायी बनाएको दावी गरेका छन् ।

सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाएर नेपाली किसानलाई पलायन बनाउन खोजेको अध्यक्ष श्रेष्ठले आरोप लगाएका छन् । उनले राज्यले गरेको किसान मारा निणर्य खारेज गरी नेपाली किसानलाई दिइँदै आएको रासायनिक मलमा अनुदान नघटाउन र बरु मलको अनुदान ९० प्रशित पुर्याउन माग गरेका छन् ।

उनले रासयनिक मलको कारखाना नेपालमा नै स्थापना गर्न र बाहिरबाट मल खरिद गरुञ्जेल खुल्ला प्रतिष्पर्धाका नाममा गरिने ग्लोबल टेन्डर खारेज गरी सरकार-सरकार (जीटुजी) माध्यबाट मात्र मल खरिद गर्न माग गरेका छन् । उनले अन्यथा आफ्नो संगठन बिचौलीया र दलाल पुँजीवादी सरकारको किसान मारा नीति विरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।