काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो पासपोर्टमाथिको अनुसन्धान पुरा भएको छ । जिल्ला प्रहरी परिसर काठामाडौंले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पठाएको हो।
जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता अच्युतमणि न्यौपानेले फाइल आइपुगेको बताए । ‘हामीले फाइल अध्ययन गरिरहेका छौँ, न्यौपानेले गोलखबरसँग भने, फाइलको अध्ययन सकिएपछि मुद्दा प्रक्रिया के गर्ने भन्ने विषयमा छिट्टै निर्णय लिन्छौ ।’
लामिछानेले नागरिकता २०५० साल फागुन १० गते काठमाडौंबाट लिएका थिए। २०७० फागुन ११ गते उनले अमेरिकी नागरिकता लिएका थिए। २०७१ जेठ २१ मा उनी नेपाल आए।
अमेरिकी नागरिकता लिइसकेपछि पुरानो नागरिकताकै आधारमा २०७३ जेठ १३ गते नेपाली राहदानी लिएको बताइएको छ भने अर्कोतर्फ उनले अमेरिकी पासपोर्ट र नेपाली पासपोर्ट एकसाथ प्रयोगमा ल्याएको दाबी गरिएको छ। करिब ३ वर्षसम्म रविले अमेरिका र नेपालको दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको बताइएको छ। सोहीबारे प्रहरीले अनुसन्धान सकेर फाइल बुझाएको हो।