• माघ १८ २०८१, शुक्रबार

गोलखबरका नियमित स्तम्भकार बलामीको निधन, यस्ता थिए उनका विचार (भिडियो सहित)

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । साहित्यकार तथा लेखक रामचन्द्र बलामीको निधन भएको छ । मष्तिस्कघातले थलिएका ६० वर्षीय बलामीको गए राती काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बलामी गोलखबर डटकमका नियमित लेखक थिए । उनले कम्युनिष्ट विचार, मार्क्सवादी दर्शन, प्रकृति, मानव समाजको उत्पत्ति र विकासका बारेमा कलम चलाउँदै आएका थिए । अध्ययनमा गहिरो रुची राख्ने बलामी इमान्दार छविका लेखक थिए ।

२०१९ सालमा काठमाडौँको टौदहमा जन्मिएका बलामी ४० वर्षदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय नेताको रूपमा परिचित थिए । उच्च रक्तचाप र मधुमेह लगायतका समस्याले ग्रसित बलामीलाई केही दिन अगाडि मस्तिष्कघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।

बलामीको निधनमा नेकपा बहुमतका सचिवालय सदस्य उदयबहादुर चलाउनेले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक र भावुक स्टाटस लेखेका छन् ।

आज बलामीको सम्मानमा पशुपति आर्यघाटमा श्रद्धाञ्जली सभा गरियो । श्रद्धाञ्जली सभामा नेकपा (बहुमत) का संयोजक कञ्चन, पार्टी प्रवक्ता सुदर्शन, नेकपा (क्रान्तिकारी माओवादी) का नेता हरिभक्त कँडेललगायत कयौँ कम्युनिस्ट नेता-कार्यकर्ता उपस्थित थिए ।

पञ्चायतकालदेखि नै कम्युनिष्ट विचारबाट प्रभावित बलामी नेकपा माले, नेकपा एमालेहुँदै पछिल्लो चरणमा नेकपा(बहुमत)मा सकृय थिए । उनी सो पार्टीको महाधिवेशनमा आयोजक समिति सदस्यको जिम्मेवारीमा थिए । श्रद्धाञ्जली सभामा उपस्थितहरुले उनको शवमा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली प्रकट गरेका थिए । उनको आजै उनको अन्तिम संस्कार गरिएको छ ।

बलामीका जीवन संगिनी सुशीला बलामी, छोरा रोशन बलामी, छोरीहरू रोजिना बलामी श्रेष्ठ, स्मृति बलामी र आकृति बलामी छन् । उनका केही कृति समेत प्रकाशित छन् । फुटकर रूपमा उनका धेरै रचना छापिएका छन् । केही वर्ष अगाडि जयगौरी प्रकाशनले प्रकाशित गरेको अवैध गर्भ नामक कथा संग्रह पाठकहरुले मन पराएका थिए ।

उनको निधनप्रति नेकपा(बहुमत)ले एक विज्ञप्ति जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेको छ । सो पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले एक विज्ञप्ति जारी गर्दै बलामीको निधनले नेपालको कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताएका छन् । गोलखबर डटकमका नियमित लेखक समेत रहेका बलामीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।