काठमाडौं । कांग्रेस नेता विमलेन्द्र निधीले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् । प्रधानमन्त्री दाहालले चैत्र ८ भित्रै विश्वासको मत लिने तयारी गरेका छन् ।
‘उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि कांग्रेस सरकारमा जान्छ,’ कांग्रेस ललितपुर नगर समितिले आज बिहान गरेको कार्यक्रममा निधीले भने, ‘गठबन्धन दलहरूबीच सहमति भए अनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ ।’
नेता निधीले पहिलो चरणमा प्रधानमन्त्री दाहालकै सरकार निरन्तर रहने बताए । ‘पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ,’ उनले भने ।
नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो । गत पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित ८ दलको गठबन्धन बनेको थियो ।