• जेष्ठ ९ २०८३, शनिबार

को बन्लान् एक सातापछि नयाँ प्रहरी प्रमुख, कति जना छन् आईजी रेसमा ?

चैत्र २ २०७९, बिहीबार

काठमाडौं । हालका प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण आउँदो चैत १० राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन्।

आईजी सिंहसँगै उनका ब्याची एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी, दिवेश लोहनीसहित डीआईजीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि हाल मात्रै एआईजी बढुवाका लागि सिफारिस भएका एआईजीहरुमध्येबाट एक जना आईजी बन्नेछन्।

सरकारले बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजी बढुवाका लागि सिफारिस गरिसकेको छ। अहिलेसम्म बढुवा सिफारिस विरुद्ध कुनै उजुरी नपरेकाले अबको केही दिनमै उनीहरुले एआईजीको दर्ज्यानी चिह्न लगाउनेछन्।

एआईजी भएको एक सातामै उनीहरुमध्येबाट एक जना नेपाल प्रहरीको ३०औं आईजी बन्नेछन्। पहिलो नम्बरमा बढुवा भएका कुँवर डीआईजी बन्दा पनि पहिलो नम्बरमै बढुवा भएका थिए। हाल उनी मधेस प्रदेश प्रमुखको रुपमा कार्यरत छन्। यसअघि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समेत जिम्मेवारी सम्हालिसकेका छन्।