काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले जनताले लडेको त्यो युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको पनि पटक–पटक दोहोर्याए।
माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्न विप्लवले चेतावनी दिए ।
जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने महासचिव विप्लवको भनाइ थियो। उनले भने, ‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र? जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो। तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ यहाँ।’
उनले जनयुद्ध नेपालका लागि नेपाली जनाताले लडेको अपवाद भएको बताएका छन्। पीडितले लडेको जनयुद्धलाई अपराधीकरण गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन्।