• बैशाख २७ २०८३, आईतवार

सरकारी गठबन्धनलाई ओलीले दिए १० टाउके राक्षसको संज्ञा

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन् ।

उनले १० वटा टाउको एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरेका हुन् । ‘१० दलीय गठबन्धनका १० टाउको एक ठाउँ भएपछि भयंकर विध्वंस मच्चिनेवाला छ,’ उनले भने ।

उनले सत्ता गठबन्धनप्रति इंगित गर्दै अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरू चलाखीसाथ, कपटपूणर् ढंगले हरण गरिएको दाबी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए ।

ओलीले उपराष्ट्रपतिमा एमालेको उमेदवारले जित्ने सम्भावना प्रवल रहेको बताए । १० दलीय गठबन्धनकोे पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप लगाए । “बहुदलीय व्यवस्थामा १० थरी १० तिर हुनुभन्दा १० थरी एकै ध्रुवमा समाहित हुन राम्रो हुन्छ,“ उनले भने ।