• बैशाख २७ २०८३, आईतवार

कसैलाई मृत्युदण्ड दिनेतिर जानु हुँदैन : केपी ओली

फाल्गुन ३० २०७९, मंगलवार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले मृत्युदण्डको सजाय दिनेतर्फ लाग्न नहुनेमा आफू दृढ रहेको बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने भएकाले आफू त्यसको पक्षमा नरहेको उनले बताए ।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको मानवअधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनमा उनले बुद्ध जन्मेको देशका बासिन्दा आवेश वा उत्तेजनामा मृत्युदण्डको पक्षमा जान नहुनेमा जोड दिए ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारेको बताए ।

‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रूपमा, हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन,’ उनले भने,‘तर, कतिवटा देशहरूले त मृत्युदण्ड दिएको दियै छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार डिक्लेरेसनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्वीकार गर्दैन ।’

अध्यक्ष ओलीले नेपालमा पनि मानवअधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।