काठमाडौं । ओम शान्ति नामक संस्था समाजमा नैतिकताको पाठ सिकाउने संस्था हो । यसलाई राजयोगको शिक्षा भन्ने गरिएको पाइन्छ । अर्को शब्दमा पुरुष नर (मानिस)बाट नारायण (भगवान) र महिला नारीबाट लक्ष्मी (धनकी देवी) बन्नेतिरको यात्रामा लाग्ने ज्ञान दिने संस्था भनेर पनि चिन्ने गरिन्छ ।
अझ अर्को शब्दमा भन्नु पर्दा मर्यादा पालक, सर्वगुण सम्पन्न र चरित्रवान मानिस जन्माउने शिक्षा दिने संस्था भनेर पनि चिन्न सकिन्छ । यो संस्था ब्रह्मकुमारी विश्वविद्यालय भनेर संसार भर चिनिन्छ ।
ओम शान्ति यसको सांकेतिक नाम हो भनेर यसका बारेमा जान्ने जानकारहरु बताउँछन् । नेपालमा यो संस्थालाई ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नामले चिनिन्छ । काठमाडौं, धरान, पोखरा र विराटनगर लगायत देशका धेरै स्थानहरुमा यो संस्थाको शाखाहरु खुलेको पाइन्छ ।
यो संस्थामा गण्डकी प्रदेशको म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–७ ताकमका लोकबहादुर हमाल पनि यो संस्थामा आवद्ध हुनुहुन्छ । यो संस्थामा आवद्ध भएर उहाँले गाउँ–समाजमा धेरैलाई नैतिकताको पाठ सिकाइरहनु भएको छ । उहाँको पहल र आयोजनामा त्यहाँ यसअघि विभिन्न कार्यक्रमहरु पनि भएका छन् ।
उहाँले ‘ओम शान्ति पथ स्वर्गको बाटो’ नामक एक पुस्तक पनि प्रकाशन गर्नुभएको छ । सो पुस्तकमार्फत् उहाँले समाजमा नैतिकताको पाठ सिकाइरहनु भएको छ । समाजका अहिंसाको बाटो सिकाउनु भएको छ ।
उहाँले गाउँमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र स्थापना गरेर मानिसहरुलाई नैतिकताको ज्ञान दिइरहनु भएको छ । उहाँ सादा जीवन र उच्च विचारको हुनुहुन्छ । मिठो र कम बोल्नु, झुठो नबोल्नु, बलात्कार नगर्नु, कसैलाई पक्षपात नगर्नु, भ्रष्टाचार नगर्नु, समयको सदुपयोग गर्नु जस्ता ज्ञानवर्द्वक कुराहरु उहाँले सबैलाई सिकाउनु भएको छ ।
साथै घमण्ड नगर्नु, दानवी जीवन नबिताउनु, कसैलाई पनि गलत निर्देशन नगर्नु जस्ता ज्ञानगुणका कुराहरु उहाँले सिकाउनु भएको छ । गलत सोंच र गलत चिन्तनका कारण समाजमा द्वन्द्व हुने भएकोले यस्ता झैझगडाबाट टाढै बस्नुपर्नेमा ओम शान्तिको जोड रहेको छ ।
उहाँले प्रकाशन गर्नुभएको पुस्तकमा उहाँले राजयोगलाई मनोविज्ञान जसले मानसिक बल प्रदान गर्दछ भन्नु भएको छ । राजयोगको अभ्यासले मानिसमा मानसिक सन्तुलन ल्याउँदछ । यसले हाम्रो संस्कारमा शुद्धिकरण गर्दछ । राजयोगबाट कुशल प्रशासनको विकास हुन्छ । योगले मानिसको भनाई र गराईमा समानता ल्याउँछ । यसबाट नेतृत्व कलाको विकास हुन्छ जस्ता महत्वपूर्ण कुराहरु सिकाइएको छ ।
माथि नाम उल्लेखित पुस्तकमा उहाँले शिवको महिमा गाउनु भएको छ । शिवलाई उहाँले परमपिता मान्नु भएको छ । शिवरात्रीको महत्व दर्शाउनु भएको छ । शिव भनेको जन्मदाता, पालनकर्ता र संहारकर्ता गरि ३ चरणमा ब्याख्या गर्नु भएको छ । सो पुस्तकमार्फत् उहाँले अनुशासनको निकै ब्याख्या गर्नुभएको छ । कवितात्मक रुपमा उहाँले नेताहरुलाई निकै चोटिलो ब्यङ्ग्य पनि गर्नुभएको छ ।
‘ए नेताहरु हो भोट जित्छौ भने काम गरेर देखाउन सिक,
जनतालाई फसाउन नसिक
ए नेताहरु हो पैसा खान सिक्छौ भने काम गरेर खान सिक
जनतालाई रुवाउन नसिक
अब भोट माग्नेहरु होसियार बन्न सिक
भ्रष्टाचार गर्न नसिक ।’
यसरी उहाँले भ्रष्टाचार गरेर अकुत सम्पति कमाउनतिर लागेकाहरुलाई वैचारिक दनक दिनु भएको छ । उहाँले मानिसहरुलाई असल मार्गमा लाग्न शिक्षा दिनु भएको छ ।
उहाँको पुस्तकमा यी र यस्ता धेरै ज्ञानका कुराहरु रहेका छन् । एकचोटी सबैले यो पुस्तक पढेर ज्ञान लिन सकिनेछ । समाजमा रहेका विभिन्न समुदायका मानिसहरुलाई असलको कुराको ज्ञान दिनु अति राम्रो कुरा हो ।
तर यसरी मानिसहरुलाई ज्ञान दिने संस्थाले समाजमा भएका विभेद र अन्यायलाई पनि चिनेर त्यसलाई मानिसको मनबाट हटाउनको लागि पनि पहल गर्नु पर्ने आजको आवश्यकता हो ।