काठमाडौं । कांग्रेस–माओवादी केन्द्र नेतृत्वको नौ दलीय सत्ता गठबन्धनभित्रै अर्को मोर्चाबन्दी बन्ने भएको छ । माओवादी केन्द्रको नेतृत्वमा एकीकृत समाजवादी, जसपा र नेसपाबीच चार दलीय मोर्चाबन्दी बन्ने भएको हो ।
गत माघ दोस्रो साता एकता प्रक्रिया टुंग्याउने कसरतमा लागेका चार दलले हालसम्म ५० प्रतिशत कार्य पनि सम्पन्न नगरेको स्रोत बताउँछ । स्रोतका अनुसार माओवादी केन्द्रले सत्ताको बागडोर सम्हाल्नु परेको भन्दै एकता प्रक्रिया अलमलमा परेको हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेसपाबीच पार्टी एकताका लागि निर्वाचन अगावै विभिन्न प्रयास भए पनि निष्कर्षमा पुगेको छैन । निर्वाचन पश्चात् सत्ताको बागडोर सम्हाल्ने मौका पाएको माओवादी केन्द्रले सत्ताकै चाँजोपाँजोमा लागेको हुनाले एकता प्रक्रिया लम्बिँदै गएको एकीकृत समाजवादीका एक नेताले बताए । उनको भनाइलाई आधार मान्ने हो भने एकता प्रक्रियामा ढिलाइ हुनुको प्रमुख कारक माओवादी केन्द्र रहेको छ ।
तथापि माओवादी केन्द्रले नै एकीकृत समाजवादी र जसपासँग दलगत एकता गर्न चाहेको जसपाका नेताहरू बताउँछन् । उसले कम्युनिष्ट पार्टीहरूलाई ध्रुवीकरण गर्न पहल गर्ने समेत आश्वासन दिएको उनीहरूको तर्क छ । एमाले बाहेकका कम्युनिष्ट पार्टी सकभर एकता गर्ने नभए मोर्चाबन्दी गरेरै जाने सहमति भएको एकीकृत समाजवादीका नेताहरू बताउँछन् ।
उता माओवादी केन्द्रले पार्टी एकता गर्न बिलम्ब गरेको भन्दै एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता प्रक्रिया अगाडि बढाइएको छ । यी दुई दलले दलगत एकताका लागि सघन छलफल गर्दै आएको बताइएको छ । तर, यी दुई दलबीच पनि एकता प्रयास चाँडै टुंगिने सम्भावना देखिँदैन ।
२०७४ को निर्वाचनमा स्थानीय तहदेखि संघसम्म मधेसमा ठूलो आयतन बनाएको जसपा गत निर्वाचनमा खुम्चिएको छ । उसको आकार भर्खरै उदाएको सिके रावत नेतृत्वको जनमत पार्टीभन्दा सानो आकारमा परिणत भएको छ ।
निर्वाचनले उसको आकार मात्रै खुम्च्याएन, पार्टी अध्यक्ष उपेन्द्र यादव पराजयको सिकार बन्नुपर्यो । त्यसयता उपेन्द्रले पार्टी शुद्धिकरणदेखि एकता अभियानलाई तीव्रता दिएका छन् । आगामी पाँच वर्षपछि हुने निर्वाचनमा अहिलेको आकारभन्दा दोब्बर ठूलो आकार लिने लक्ष्यका साथ यादव यो अभियानमा सक्रिय छन् ।
यसका लागि उनले आफूभन्दा कनिष्ठ मात्रै नभएर संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूसँग एकताका लागि प्रस्ताव गरेको छ । उसले दुई महिनाअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीसँग एकताका लागि प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई एकीकृत समाजवादीले स्वीकार गरेको एकता वार्ता समितिका संयोजक राजेन्द्र कुमार श्रेष्ठले बताए । उनी केही कार्यगत र नीतिगत व्यवधानका कारण पार्टी एकतामा ढिलाइ भएको स्वीकार्छन् । तर, ढिलो चाँडो एकता टुंगिने श्रेष्ठको दाबी छ ।
त्यसैगरी माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेसपाबीच पार्टी एकता निष्कर्षमा पुगेको माओवादी केन्द्रका उपाध्यक्ष तथा पार्टी प्रवक्ता कृष्णबहादुर महरा बताउँछन् । पार्टी एकताको औपचारिक उदघोष हुन केही समय लाग्ने उनी बताउँछन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच तत्काल एकता हुने सम्भावना नदेखिए पनि मोर्चाबन्दी हुने भएको छ । माओवादी केन्दले सत्ताको बागडोर सम्हालेको छ । यस्तो बेला कुनै संकट आइपरे यी चार दल मिलेर हल गर्ने भएका छन् भने सत्तामा पनि उनीहरू संलग्न हुने बताइएको छ । यद्यपि मोर्चाबन्दीबारे औपचारिक घोषणा भईसकेको छैन ।