• बैशाख २७ २०८३, आईतवार

उपराष्ट्रपतिमा एमालेले बाजी मार्ला ? यस्तो छ नेताहरूको प्रतिक्रिया

फाल्गुन २७ २०७९, शनिबार

काठमाडौं । आसन्न चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनका लागि गठबन्धन र प्रतिपक्षी दलले आ–आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिपक्षी दल एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् भने नौ दलीय गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी हुन् ।

गठबन्धनका शीर्ष नेताहरूको दुई दिने छलफलले उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन नसकेपछि दलहरूले आ–आफ्नो ढंगबाट उम्मेदवारी दर्ता गराएका छन् । जसपाबाट संसदीय दलका नेता रामसहाय प्रसाद यादव र नेत्री प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

रामसहाय प्रसादको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, कांग्रेसका रमेशजंग रायमाझी, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, एकीकृत समाजवादीका किसान श्रेष्ठ रहेका छन् । समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी र जसपाकी रेखा यादव, अम्बिका काफ्ले छन् ।

त्यस्तै प्रमिलाको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्र कुमारसिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन छन् ।

गठबन्धमै आवद्ध जनमत पार्टीकी नेत्री ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । झाको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव छन् भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

त्यसैगरी प्रतिपक्षी दल एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शाक्को प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ रहेका छन् । समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन् ।

नौ दलीय गठबन्धनमा उपराष्ट्रपति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएसँगै एमाले हौसिएको छ । उसले शाक्यलाई मात्रै उम्मेदवार बनाएको छ । यस्तो बेला बाजी मार्ने सम्भावना हुनसक्ने बताउँछन्, एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसांसद महेश बस्नेत ।

बस्नेत भन्छन्, ‘गठबन्धनको समर्थनमा सकभर एउटामात्रै उम्मेदवार बन्न सक्नुपथ्र्यो । त्यसो भएन, यस्तो बेलामा गठबन्धन भित्रका केही दललाई कन्भीन्स गर्न सकियो भने उपराष्ट्रपतिमा बाजी मार्न पनि सकिन्छ । यद्यपि उम्मेदवारको दाबी, विरोध, समर्थन फिर्ताको समय बाँकी नै छ । यस्तो बेला यहीँ हुन्छ भन्न कठिन छ । तर, एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई विजयी गराउन हरहमेशा कोसिस गर्छ ।’

उपराष्ट्रपतिको उम्मेदवार दर्तास्थलमै पुगेका एमाले नेता छविलाल विश्वकर्माले शाक्यले राजनीतिमा पुर्याएको योग्दानबारे चर्चा गर्दै शाक्यले नै उपराष्ट्रपतिमा बाजी मार्ने जिकिर गरे । उनी भन्छन्, सत्ता र शक्ति आर्जनको लागि गरिएको गठबन्धन धेरै टिक्नसक्ने सम्भावना हुँदैन । यो बीचमा उहाँहरूले राष्ट्रपति पद प्राप्त गरेपनि उपराष्ट्रपति पदमा त्यो सम्भावना छैन । एमाले उम्मेदवार शाक्य कमरेडको पक्षमा भारी मत आउँछ र हामी जित्छौँ । यो पदका लागि उहाँ योग्य पनि हुनुहुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका निम्ति उहाँले पुर्याउनु भएको योग्दानको कदर गर्दै गठबन्धन दलमा आवद्ध नेता कमरेडहरूले पनि हाम्रो उम्मेदवारलाई भोट गर्नुहुन्छ । यसमा हामी विश्वस्त छौँ ।’

त्यस्तै उम्मेदवार शाक्यका प्रस्तावक गोकर्ण बिष्ट पनि शाक्यले नै बाजी मार्नेमा विश्वस्त देखिन्छन् । त्यसका लागि राजनीतिक मेहनत गर्नुपर्ने उनको तर्क छ । निर्वाचन आयोगको निर्देशन र संविधान बमोजिम उपराष्ट्रपति निर्वाचित हुनुपर्ने शाक्यका समर्थक यशोदा रिजालको प्रतिक्रिया छ ।

यद्यपि उपराष्ट्रपति पदका उम्मेदवार अष्टलक्ष्मी शाक्यका लागि उपराष्ट्रपति पद प्राप्ति त्यति सहज नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उनीहरू भन्छन्, ‘उपराष्ट्रपतिको निर्वाचनमा जनताले मतदान गर्न पाउने अधिकार छैन । बरु हामीले निर्वाचित गरेका जनप्रतिनिधिबाट उपराष्ट्रपति निर्वाचित गराउने प्रद्धत्त अधिकार छ । उनीहरू दलीय व्यवस्था र त्यसले अंगिकार गरेको नीति बेगर बाहिर जान सक्दैनन् । दलले ह्वीप लगाए त्यसैमा राजी भएर मतदान गर्छन् । यद्यपि उपराष्ट्रपतिमा दलीय ह्वीप नलागे पनि अदृष्य ह्वीप जारी नै हुन्छ । यसर्थ एमाले नेताहरूले भनेझैँ शाक्यले उपराष्ट्रपतिमा सहजै जित्ने सम्भावना न्यून छ । यद्यपि एमालेले निर्वाचन अगावै केही राजनीतिक चलखेल गरे शाक्यले जित्न सक्लान् । तर, एमालेले चलखेल गर्दैमा गठबन्धनमा आवद्ध दलहरू एमालेमा फर्किने सम्भावना छैन । एक दुईवटा साना दल एमालेसँग गठबन्धन गर्दैमा उपराष्ट्रपतिमा जित्ने सम्भावना पनि देखिँदैन ।’

निर्वाचन आयोगद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताका नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको थियो ।

उम्मेदवारको सूची प्रकाशन दिउँसो ३ बजेसम्म गरिएको छ । उम्मेदवारको विरोधमा उजुरी दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णयका लागि २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको उम्मेदवारी फिर्ता लिने, २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।