काठमाडौं । भृकुटीमण्डपको जग्गामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका प्रतिवादीहरुलाई विशेष अदालतले सजाय र बिगो तथा जरिवाना ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मुलुकी अपराध संहिता अनुसार सजाय निर्धारण गरेको हो। यसअघि विशेषले फागुन १६ गते दुई मन्त्रीसहितलाई दोषी ठहर हुने फैसला सुनाएको थियो।
विशेषले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई मतियारमा ठहर हुने फैसला सुनाएको थियो भने पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई मुख्य दोषी ठहर गरेको थियो।
मनाङबाट निर्वाचित भएका उनी निलम्बित छन्। उनी पूर्व श्रम तथा रोजगार राज्यमन्त्री हुन्। पूर्व एमालेका नेता बद्री न्यौपाने भने मुल अभियोगमै दोषी ठहर भएका थिए।
समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहितलाई मुद्दा दायर गरेको थियो। विशेषले पाँच जनालाई सफाइ दिँदै ९ जनालाई दोषी ठहर गरेको थियो।
न्यौपाने महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए। न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले विनाप्रतिस्पर्धा पूर्व श्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिने निर्णय गरेको थियो। अख्तियारले अनुसन्धान गरी २०७५ माघ २१ मा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको बिगो दावी गरेर मुद्दा दायर गरेको थियो।
कसलाई कति सजाय
बद्री न्यौपाने- कैद ९ वर्ष थप ६ महिना, बिगो २ करोड ४३ लाख ६८ हजार ८ सय,
जरिवाना २ करोड ४३ लाख ६८ हजार ८ सय।
प्रमोद मेहता- कैद ८ वर्ष ६ महिना, थप बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
कुञ्जबिहारीप्रसाद चौधरी- कैद छैन, बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
हरिप्रसाद न्यौपाने- कैद ८ वर्ष, बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
नुमराज शर्मा- कैद ८ वर्ष, बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
मदनकुमार लाल कर्ण- कैद ८ वर्ष, बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
रविन्द्रकुमार यादव- कैद ८ वर्ष ६ महिना, थप बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
रविन्द्र गुरुङ- कैद छैन, बिगो र जरिवाना बद्री न्यौपाने बराबर।
सिरबहादुर गुरुङ- कैद भएन, बिगो र जरिवाना १ करोड २१ लाख ८४ हजार।
टेककबहादुर गुरुङ (मतियार)- कैद छैन, बिगो र जरिवाना २ करोड ४५ लाख बराबर।