काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका दुई पूर्वमन्त्रीलाई आज विशेष अदालतले सजाय सुनाउने भएको छ । अदलातले भृकुटी मण्डपको जग्गा विवादमा भ्रष्टाचार ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमाले नेता बद्री न्यौपानेलाई दोषी ठहर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मुलुकी अपराध संहिता अनुसार सजाय निर्धारण गर्न पेसी तोकिएको हो । यसअघि विशेषले फागुन १६ गते दुई मन्त्रीलाई दोषी ठहर हुने फैसला सुनाएको थियो ।
विशेषले नेपाली कांग्रेसका सांसद समेत रहेका टेकबहादुर गुरुङलाई मतियारमा ठहर हुने फैसला सुनाएको थियो । पूर्व श्रम तथा वैदेशिक रोजगार मन्त्रीसमेत रहेका गुरुङ मनाङबाट सांसदमा निर्वाचित भएका थिए । त्यस्तै तत्कालीन एमालेका नेता बद्री न्यौपाने भने मुल अभियोगमै दोषी ठहर भएका थिए । विशेष अदालतले भ्रष्टाचारको मुद्दामा मतियारको रुपमा ठहर गर्दै सजाय भने फागुन २५ गते सुनाउने मिति तोकेको थियो।
समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहितलाई मुद्दा दायर गरेको थियो। विशेषले पाँच जनालाई सफाइ दिँदै नौजनालाई दोषी ठहर गरेको थियो । न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका थिए।
न्यौपानेको नेतृत्वमा २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिनाप्रतिस्पर्धा पूर्व श्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो।
अख्तियारले अनुसन्धान गरी २०७५ माघ २१ मा ३१ करोड ५२ लाख रुपैयाँभन्दा बढीको विगो दाबी गरेर मुद्दा दायर गरेको थियो।