काठमाडौं । राप्रपाले राष्ट्रपति निर्वाचनमा कसैलाई मत नदिने बताएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ दुबै अभिभावकीय भूमिकामा निष्पक्ष हुने सम्भावना नदेखेर मतदान नगर्ने निणर्य गरेको बताए ।
बुधबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निणर्य गरेको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले संविधानले राष्ट्रपतिलाई अभिभावकीय र निष्पक्ष संस्थाको रुपमा परिकल्पना गरेको तर अहिलेका दुबै उम्मेदवार सक्रिय राजनीतिबाट आएको हुनाले निष्पक्षताको आशा गर्न नसकिने बताए ।
‘दुबै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको र गत निर्वाचनमा एउटा एउटा पार्टीबाट प्रतिनिधिसिभामा निर्वाचित भएको हुनाले अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सकेनौं’ लिङ्देनले निर्वाचनमा तटस्थ बस्नुको कारणबारे भने । यसअघिका दुबै राष्ट्रपति दल निरपेक्ष रहन नसकेको भन्ने विवाद उठेको भन्दै लिङ्देनले अहिलेका दुबै उम्मेदवारमा पनि त्यो सम्भावना रहेको बताए ।
‘अहिलेको उम्मेदवारबाट त्यही कुराले निरन्तरता प्राप्त गर्ने र फेरि पनि यो संस्था निष्पक्ष हुन सक्ने सम्भावना नदेखेर मतदान नगर्ने निणर्य गरेका हौं’ लिङ्देनले भने ।