काठमाडौं । अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो । यसमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको ब्यूरो प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।
६.९ किलो गाँजा बरामद गरेको उनले बताए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलमा प्रहरीले निगरानी राख्ने गर्छ । त्यहीक्रममा गत आइतबार एउटा पार्सल आइपुगेको थियो । क्यालिफोर्नियाको लस एन्जलसबाट दुबईहुँदै उक्त पार्सल काठमाडौंमा आइपुगेको थियो ।
जसमा चकलेट एन्ड चाइल्ड गेम आइटम लेखिएको थियो । उक्त पार्सल शंकास्पद देखिएपछि चकलेटका बट्टाभित्र ४.५ किलो गाँजा फेला परेको थियो । पार्सल लिन आएका भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाई दायानी र सर्लाही हरिहरपुर नगरपालिका–३ का २८ वर्षीय फैज आलमलाई पक्राउ गरेको एसपी जोशीले बताए ।
उनीहरूबाट एउटा भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ पनि बरामद गरेको छ । उनीहरू बस्ने ठमेलको होटल कोठाबाट प्रहरीले अशोकभाइको राहदानी र एकलाख ४० हजार भारू पनि बरामद गरेको छ ।
यस्तै, सोही दिन क्यालिफोर्नियाबाटै अर्को पार्सल पनि आएको थियो । होम डेकोर वाटर एन्ड चाइल्ड गेम आइटम उल्लेख गरिएको पार्सल पनि चेक गर्दा थप गाँजा बरामद भएको ब्युरोले जनाएको छ । उक्त पार्सलबाट भने २.४ किलो गाँजा बरामद भएको हो ।
उक्त पार्सल लिन आएका गोरखा गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याललाई नागार्जुन–१ खरीबोटबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूलाई पनि पार्सल ‘रिसिभ’ गर्नेमात्रै जिम्मा दिइएको थियो । ‘केही रकम दिने भनेर पार्सल रिसिभ गर्नलाई भनिएको देखिन्छ,’ उनले भने,‘उक्त पार्सल फेरि अर्कै व्यक्तिहरूलाई दिने तयारी थियो ।’
ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट उक्त गाँजा भारतमा लग्न लागिएको अनुमान गरिएको एसपी जोशीले बताए तर नेपालमै प्रशस्त पाइने गाँजा अमेरिकाबाटै किन ल्याइयो भन्ने विषयमा पनि ब्युरोले अनुसन्धान गरिरहेको छ ।
‘गाँजा नेपालमा प्रशस्त पाइन्छ । अमेरिकाबाट आएको पार्सल पनि धेरै होइन । थोरै मात्राको मात्रै छ । किन यसरी ल्याइयो भन्ने विषयमा हामी अनुसन्धान गर्दैछौं,’ जोशीले भने, ‘तर बरामद भएको गाँजा अलि फरक किसिमको छ । अमेरिकी पर्यटकलाई नै लक्षित गरी ल्याइएको हो कि भन्ने हाम्रो अनुमान छ ।’
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको ब्यूरोले जनाएको छ ।