• बैशाख २८ २०८३, सोमबार

शान्ति प्रक्रिया चाँडै टुङ्ग्याउन लागिपरेका छौं : सञ्चार मन्त्री शर्मा

फाल्गुन २३ २०७९, मंगलवार

काठमाडौं । सञ्चार मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सरकार दत्तचित्त भएर लागेको बताएकी छन् । उनले त्यसलाई सरकारको प्राथमिक कार्यभारका रूपमा लिएको स्पष्ट पारिन् ।

धादिङको गल्छीमा आजदेखि सुरू भएको सामुदायिक रेडियोहरूको दुई दिने राष्ट्रिय परामर्श सम्मेलनको उद्घाटन गर्दै उनले चालु संसद अधिवेशनबाटै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर शान्ति प्रक्रियाको बाँकी कार्यभार टुङ्गोमा पुर्याउने बताइन् ।

अघिल्लो संसदमा विधेयक पेस भए पनि टुंगोमा पुग्न नसकेको उल्लेख गर्दै उनले यसपटक त्यसका लागि प्रमुख दलहरूले लिखित प्रतिबद्धता नै जनाइसकेकाले सङ्क्रमणकालीन न्यायको काम टुंगोमा पुग्ने विश्वास व्यक्त गरिन् । यसका लागि मिडियाको पनि सकारात्मक भूमिकाको अपेक्षा सरकारले गरेको मन्त्री शर्माको भनाइ छ ।

शान्ति प्रक्रिया टुङ्गोमा नपुग्दा विभिन्न चलखेल सुरू भएको उल्लेख गर्दै उनले द्वन्द्वकालीन मुद्दा आम मुद्दाको रूपमा भन्दा शान्ति सम्झौता र सङ्क्रमणकालीन न्यायभित्र रहेर निष्कर्षमा पुर्याउनु पर्ने बताइन् । एक अर्को प्रसङ्गमा सरकारका प्रवक्ता शर्माले सरकार छिमेकी मुलुकसहित सबै मित्रराष्ट्रसँग सन्तुलित परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको बताइन् ।

कतिपय सन्दर्भमा जिम्मेवार नेताहरूले नै मुलुकको हितविपरीत अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले यस्ता सवालमा ध्यान दिनुपर्ने र राष्ट्रहितलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । राजनीतिक, सामाजिक आन्दोलनको सफलतामा मिडियाको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै मन्त्री शर्माले गाउँगाउँका जनता जगाउन एफएम रेडियोको भूमिका झन् महत्वपूर्ण रहेको बताइन् ।

मिडियाको यो शक्ति अब जनताको जीवनस्तर परिवर्तनमा लगाउनुपर्ने उनको भनाइ छ । राजनीतिक परिवर्तनसँगै संवैधानिक र कानुनी रूपमा धेरै परिवर्तन गरिएको भए पनि त्यसको कार्यान्वयनले गति लिन नसकेको उल्लेख गर्दै उनले कानुनी सचेतताका लागि सञ्चारमाध्यमले आफ्ना सामग्री उत्पादन र प्रकाशन प्रसारणमा जोड दिनुपर्ने बताइन् ।