काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउन माओवादी केन्द्र नै बाधक बनेको आरोप लगाएका छन् ।
राष्ट्रपति पदको निर्वाचनका विषयमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संक्रमणकालीन न्यायसम्बन्धी कानुन टुङ्ग्याउनका लागि बारम्बार भन्दा पनि ऐन, कानुन बनाउन नदिएको आरोप लगाए ।
उनले बेपत्ता छानबिन तथा सत्य निरुपण सम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेहरुले व्यवधान खडा गरेको जिकिर गरे । ओलीले शान्ति प्रक्रियालाई अविलम्व टुङ्गाउनु पर्ने एमालेको धारणा रहेको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री दाहाललाई सुझाव दिए ।
प्रशिक्षण कार्यक्रममा ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर दाहालले छलि कुरा गरेको आरोप लगाए । राष्ट्रिय राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि एमालेका राष्ट्रपति उमेदवारमा राष्ट्रिय सहमति गर्न उनले आह्वान गरे ।
अहिले पाइला पाइलामा संविधान मिच्नेहरुले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यबाजी गरिरहेको टिप्पणी ओलीले गरे । राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेल सभामुख हुँदा सांसदको अधिकार खोसेको भन्दै ओलीले व्यक्तिगतरुपमा सम्मान गरे पनि सभामुखका रुपमा कामै नलाग्ने र राष्ट्रपतिका रुपमा सोच्नै नसकिने पात्र भएको तर्क गरे ।
ओलीले अहिले सरकारमा भएका दल र नेताहरु सत्तास्वार्थका लागि राष्ट्रिय हितविपरीत काम गरिरहेको भन्दै यसलाई एमालेले रोक्ने बताए । एमाले देश र जनताका साथै संविधानप्रति प्रतिवद्ध रहेकाले कुनै पनि भ्रममा नपर्न आफ्ना सांसदहरुलाई ओलीले आग्रह गरे ।