• बैशाख २८ २०८३, सोमबार

मदन भण्डारीको हत्याको छानबिनको माग गर्दा २१ जनाको हत्या गरियो : केपी ओली

फाल्गुन २१ २०७९, आईतवार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्ना पार्टीका नेताहरु मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५०औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै ओलीले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताए ।

‘मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रसंगमा हामीले छानबिन होस् भनेर माग गर्यौं । त्यो माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरियो,’ अध्यक्ष ओलीको भनाइ छ ।

आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए । उनले सशस्त्र जनयुद्धमा पनि धेरै मानिस मारिएको भन्दै २०६३ सालमा बृत्शान्ति सम्झौतापछि राजतन्त्र हटेको बताए । उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए ।

‘राजनीतिलाई छलछाम र षडयन्त्रको खेल नबनाइयोस्, राजनीतिलाई आदर्श र समाज रुपान्तरणको माध्यम बनाइयोस्’, ओलीको भनाइ छ । तत्कालीन पञ्चायती सरकारले २०२९ साल फागुन २१ मा वामपन्थी आन्दोलनमा सहभागी ५ नेताहरूलाई जेलबाट निकालेर झापाको सुखानी जंगल लगेर हत्या गरेको थियो ।

उक्त घटना नेपाली राजनीतिमा सुखानी हत्या काण्डले चिनिन्छ । सुखानीमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द्र राजवंशी, कृष्ण कुइकेल र नारायण राजवंशीको हत्या भएको थियो ।