काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक माओवादीहरु एक ठाउँ आएर सडकमा लाखौं जनता उतार्नुपर्ने बेला भएको बताएका छन्।
अहिले पनि प्रतिक्रियावादी शक्तिहरु सक्रिय भएर आफूहरुविरुद्ध लागिरहेको बताउँदै उनले एक ठाउँमा आएर सडकमा उतिर्नुपर्ने उल्लेख गरेका हुन्।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘एकचोटी माओवादीहरु एक ठाउँमा जम्मा भएर लाखौं जनता सडकमा उतार्ने हो भने माओवादीले फेरि विजययात्रा सुरु गर्नेछ।’
अहिले एकताबद्ध हुनुपर्ने बोध सवैलाई भएको प्रचण्डको भनाइ छ। उनले थपे, ‘एकताबद्ध हुनुपर्छ भन्ने जुन बोध गरिएको छ। त्यो शक्ति हो भन्ने ठान्छु र सवै साथीहरुलाई गम्भीरता साथ विचार गर्न अनुरोध गर्दछु।’