• बैशाख २८ २०८३, सोमबार

प्रचण्डले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजेः ओली

फाल्गुन २० २०७९, शनिबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकलाई विदेशीहरुको खेल मैदान बनाउन खोजिरहेको आरोप लगाएका छन्।

मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको दाबी छ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यहाँ रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे।

अध्यक्ष ओलीले मान्छे नै नभएको ठाउँमा विश्वविद्यालय बनाउने कुरा गरेर सरकारले लाज नै पचाएको बताए। भारतलाई खुशी पार्न प्रधानमन्त्री प्रचण्डले त्यहाँबाट आउने तरकारीहरुको चेकजाँच गर्नु नपर्ने आदेश दिएको भन्दै आपत्तिसमेत जनाए।

नेपालीहरु मारेर भए पनि विदेशीहरुलाई खुशी पार्ने काममा सरकार लागि परेको अध्यक्ष ओलीको भनाइ थियो। उनले विषादी खुवाएर नेपालीलाई मार्ने काम सरकारले गर्न खोजेको उल्लेख गर्दै त्यसको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले भने, ‘कतिपय राष्ट्रिय विषयहरु, त्यो राष्ट्रिय विषय मुस्ताङमा विश्वविद्यालय भनेको के हो? मुस्ताङमा विश्वविद्यालय भनेको विदेशीको दलाली हो। राष्ट्रियतामाथिको प्रहार हो। मित्र राष्ट्र चीनविरुद्धको गद्दारी गर्न खोजेको हो। २०३१ साललाई ठूलो स्केलमा दोहोर्‍याउन खोजेको हो। आफ्नै राष्ट्रको सार्वभौमसत्तालाई अस्विकार गर्न खोजिएको हो। के हो त्यो? विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो।’